सहमतीय सरकारको सम्भावना नभएपछि बहुमतीय सरकारमा जुट्दै

काठमाडौं, जेठ १८ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएपछि नयाँ सरकार गठन प्रक्रियालाई लिएर शीर्ष दलहरूको बारम्बार आव्हान गरिएको बैठकले समेत सहमतीय सरकार गठन गर्ने विषयमा असफल भएपछि आजबाट बहुमतीय सरकार गठनको प्रक्रियामा जाने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सहमतीय सरकार गठनको समयसीमा सकिएसँगै आजबाट बहुमतीय सरकारको प्रक्रिया सुरु गर्न आव्हान गर्ने तयारी गरेको हो । राष्ट्रपति भण्डारीले संसद्लाई पत्र पठाएसँगै बहुमतीय सरकार गठनको प्रक्रिया अघि बढ्ने छ ।
संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल सुरु गरिसकेका छन् ।
अनौपचारिक छलफलका क्रममा नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक फोरमसहित केही साना दलले देउवाको नेतृत्वमा सरकार बनाउन समर्थन जनाउने बताइसकेकाले आफ्नो नेतृत्वमा सरकार गठन हुनेमा कांग्रेस सभापति देउवा ढुक्क छन् ।
राप्रपाले पनि सरकारमा जानसक्ने संकेत गरेको छ । सभापति देउवा निकट रहेका कांग्रेस नेताहरूकाअनुसार चुनाव अघि सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारी छ ।
तर, एमालेले चितवनको भरतपुरमा रोकिएको मतगणना सुरु नभएसम्म संसद् बैठक चल्न नदिने भएकाले आज संसद् बैठक चल्ने सम्भावना न्यून रहेको छ । संसद् बैठक आज दिउँसो १ बजेका लागि आव्हान गरिएको छ ।
प्रतिक्रिया