राप्रपा स्याङ्जा जिल्ला अध्यक्षसहित दुई सय सातको राजीनामा

काठमाडौं, जेठ १९ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी स्याङ्जाका अध्यक्ष गणेशबहादुर गुरुङसहित दुई सय सात जनाले बिहीबार संयुक्तरूपमा पार्टीबाट राजीनामा घोषणा गरेका छन् ।
पार्टीले वालिङमा एक कार्यक्रमको आयोजना गरी संयुक्त राजीनामा दिएको जनाएको हो । ‘पार्टी नेतृत्वको असक्षमताका कारण पहिलो चरणको स्थानीय तहको निर्वाचनमा हामीले लज्जास्पद हार व्यहोर्नुर्पयो’, जिल्ला अध्यक्ष गणेशबहादुर गुरुङले भने, ‘देश निर्माण कार्यमा पार्टीलाई कसरी अगाडी बढाउने भन्ने कार्यमा भन्दा पनि व्यक्तिगत स्वार्थ र सत्तामा कसरी पुग्न सकिन्छ भन्ने मानसिकता केन्द्रीय नेतृत्व तहमा देखिएकाले पार्टीको साधारण सदस्य पनि नरहने गरी पार्टीबाट राजीनामा दिएका छौँ ।’
राजीनामा दिनेमा जिल्ला अध्यक्ष गणेश गुरुङसहित उपाध्यक्ष झलबहादुर गुरुङ, क्षेत्र नम्बर २ का क्षेत्रीय अध्यक्ष श्यामप्रसाद अर्याल, जिल्ला सदस्य वीरबहादुर गुरुङ, लक्ष्मी खाँण र युवक सङ्गठनका जिल्ला अध्यक्ष रत्नबहादुर गुरुङलगायत रहेका छन् ।
प्रतिक्रिया