देउवा प्रधानमन्त्री बन्ने ठूलो कसरतमा, निर्वाचन हुनेमा भने शंका कायमै

प्रकाशित मिति: २० जेष्ठ २०७४, शनिबार ०७:५३


काठमाडौं, जेठ २० ।
मुलुकको नयाँ प्रधानमन्त्री बन्न उम्मेदवारी दिने तयारीमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धेरै दलको समर्थन जुटाउने कसरतमा लागि परेका छन् । नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक फोरम, नेकपा संयुक्त, समाजवादी जनता दल, अखण्ड पार्टी नेपालको समर्थन भने पाइसकेका सभापति देउवाले राप्रपा, राजपा र संघीय समाजवादी फोरमलाई पनि सहमतिमा ल्याउन ठूलो कसरत नै गरेका छन् ।

कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको शुक्रबार पार्टी मुख्यालयमा बसेको बैठकले सत्ता समीकरणका लागि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको छ । सभापति देउवाले सत्ता समीकरण बलियो बनाउन पार्टीकातर्फबाट नेताहरू विमलेन्द्र निधि र रमेश लेखकलाई खटाएका छन् । राजपाले संविधान संशोधन, स्थानीय तहको संख्या थप, मुद्दा फिर्तासहितका विषयमा प्रतिबद्धता आएपछि देउवालाई समर्थन गर्ने संकेत दिएका छन् ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले प्रधानमन्त्रीमा पार्टी सभापति देउवालाई सहयोग गर्न अन्य दललाई अपिल गर्ने भएको छ । २९ सदस्यीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । संसद्मा रहेका दलहरूलाई प्रधानमन्त्रीको निर्वाचनमा सहयोग गर्न औपचारिक आग्रह गरिने केन्द्रीय सदस्य पूर्णबहादुर खड्काले जानकारी दिए । उनले भने, ‘बहुमतको लागि पहिलेकै गठबन्धन छ । अझै थप दलहरूलाई पनि सरकारमा सहयोग गर्न आज औपचारिक आव्हान गर्छौं ।’ संसद्मा रहेका दलहरूलाई पत्रमार्फत् तथा एमालेसहितका दलका नेतालाई भेटेरै पनि सहयोगको आग्रह गरिने उनको भनाई छ । प्रधानमन्त्रीका लागि आज बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको छ ।

प्रधानमन्त्री भएपछिका चुनौतीको समाधानका लागि पनि सत्ता गठबन्धनमा धेरै दल समेट्ने तयारीमा कांग्रेस छ । ‘धेरै राजनीतिक मुद्दा किनारा लगाउँदै संविधान कार्यान्वयन गर्नुपर्ने अवस्था छ,’ कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले भने, ‘चुनौतीको सामना गर्न पनि हामी सरकारमै दुई तिहाई पुर्‍याउन प्रयासरत छौं ।’ दोश्रो चरणको स्थानीय निर्वाचन, संविधान संशोधन, स्थानीय तहको संख्या थप्ने निर्णय, प्रदेशको सीमाङ्कन, प्रदेश र संसद्को निर्वाचन ७ माघसम्म सक्नुपर्ने चुनौती नयाँ सरकारसँग छ ।
आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....