प्रधानमन्त्री बन्न देउवाले गरे पौडेलसँग गोप्य बैठक, एमालेले वामदेवलाई उठाउँदै

प्रकाशित मिति: २० जेष्ठ २०७४, शनिबार ११:०३


काठमाडौं, जेठ २० ।
मुलुकको नयाँ प्रधानमन्त्रीका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएसँगै आज प्रधानमन्त्री पदका लागि दलहरूले ११ बजेदेखि ४ बजेसम्म उम्मेदवार दर्ता गर्ने भएको छ । भोलि आइतबार ११ बजे मतदान प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्ने छन् ।

सभामुख ओनसरी घर्तीमगरले व्यवस्थापिका संसद् नियमावली, २०७३ को नियम ४९ को उपदफा (२) बमोजिम प्रधानमन्त्रीको निर्वाचनको मिति र समयसहितको कार्यतालिका तोकेको व्यवस्थापिका संसद् सचिवालयले जनाएको छ । मनोनित उम्मेदवारहरूको अन्तिम सूची आजै साँझ साढे ४ बजे प्रकाशित गरिने छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको पूर्वसहमतिअनुसार नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिइसकेका छन् । अहिलेसम्म देउवाले प्रधानमन्त्रीमा उम्मेदवारी दिने लगभग निश्चित छ ।

यसैबीच, कांग्रेसका अर्का वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा इच्छा देखाएपछि देउवा र पौडेलबीच पनि शुक्रबार छुट्टै ‘गोप्य’ छलफल भएको कांग्रेस श्रोतले जनाएको छ । दुई नेताको गोप्य कुराकानीपछि कांग्रेस मुख्यालयमा बसिरहेको कांग्रेस बैठकले देउवालाई अघि सार्ने निर्णय गर्नेछ ।

आफ्नो उम्मेदवारी बलियो बनाउन देउवा अधिकतम दलको समर्थन जुटाउन सक्रिय रहेका छन् । उनले बिमलेन्द्र निधि र रमेश लेखकलाई सत्ता समीकरणको लागि खटाएका छन् । जसअनुसार कांग्रेसले माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, नेकपा संयुक्त, समाजवादी जनता दल, अखण्ड नेपाल पार्टी नेपालको समर्थन पाइसकेको बताइएको छ । साथै, राप्रपा, राजपा र संघीय समाजवादी फोरमलाई पनि सहमतिमा ल्याउन निधि र लेखकले छलफललाई निरन्तरता दिइरहेका छन् ।

तर, राजपाले संविधान संशोधन, स्थानीय तहको संख्या थप, मुद्दा फिर्तासहितका विषयमा प्रतिबद्धता आएको खण्डमा देउवालाई समर्थन गर्ने संकेत दिएको छ । राजपा महासचिव मनिषकुमार सुमनले भने, ‘हाम्रो माग पूरा हुने स्पष्ट धारणा नआएसम्म कुनै पनि चुनावमा सहभागी हुँदैनौं ।’

प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने प्रधानमन्त्रीको उम्मेदवारमा वामदेव गौतमलाई उठाउने भएको छ । भरतपुर महानगरको स्थगित मतगणना सुचारु गर्नुपर्ने मागसहित संसद् अवरुद्ध गरिरहेको एमालेले प्रधानमन्त्रीमा देउवालाई समर्थन नगर्ने बताइसकेको छ । ‘विकल्पमा हामीले उपाध्यक्ष वामदेव गौतमलाई उभ्याउने छौं’ एमाले स्थायी समिति सदस्य शंकर पोखरेलले जानकारी दिए । अहिले एमाले पनि सत्ता समीकरणको लागि आन्तरिक तयारीमा लागिरहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....