मुलुकको ४० औं नयाँ प्रधानमन्त्री चयन अनिश्चित, एमालेद्वारा संसद अवरुद्ध

काठमाडौं, जेठ २१ ।
व्यवस्थापिका संसदबाट प्रक्रिया सुरु हुने नयाँ प्रधानमन्त्री चयन अनिश्चित देखिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार संसद् सचिवालयले प्रधानमन्त्री चयन प्रक्रिया सुरु गरे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध जारी राख्ने भएपछि प्रधानमन्त्री चयन अनिश्चित बनेको हो ।
मुलुकको ४० औं प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ । सभापति देउवाका पक्षमा अहिलेसम्म तीन सय ११ जना सांसदको समर्थन रहेको कांग्रेसले जनाएको छ । संसद्मा अहिले कायम रहेको पाँच सय ९३ को बहुमत पु¥याउन दुई सय ९७ जना सांसदको समर्थन आवश्यक पर्छ ।
संसद् सचिवालयले प्रधानमन्त्री चयनका लागि मतदान गर्ने कार्यतालिका आज घोषणा गरे पनि एमालेले चितवनको भरतपुर महानगरपालिकाको मतगणना सुरु हुनुपर्ने माग गर्दै संसद् बैठक अबरुद्ध गर्ने संकेत देखिएपछि प्रक्रिया कसरी अगाडि बढाउने भन्नेमा सभामुख ओनसरी घर्ती अन्योलमा परेकी छन् ।
आइतबार ११ बजेका लागि राखिएको संसद् बैठकअघि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर सहमति खोज्ने प्रयास गरेकी छन् ।
बैठकमा सहमति जुट्न नसकेमा सभामुखसमक्ष तीन वटा विकल्प हुने छन् । सभामुख घर्तीसँग अवरोधकाबीच प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाउने, बैठक अवरोध गर्ने सांसदलाई मार्सल लगाएर बैठकस्थलबाट बाहिर निकाल्ने वा बैठक सार्ने विकल्प छन् ।
प्रधानमन्त्रीका लागि एक जनाको मात्र उम्मेदवारी परे पनि संसदीय नियमअनुसार संसदमा मतदान गर्नुपर्ने छ । मतदानमा उम्मेदवारले बहुमत प्राप्त गर्नुपर्छ ।
प्रतिक्रिया