हत्या अभियोगमा माओवादीकी पूर्वमन्त्रीसहित चालिसविरुद्ध मुद्दा दायर

प्रकाशित मिति: २२ जेष्ठ २०७४, सोमबार ०८:१८


दोलखा, जेठ २२ ।
नेकपा माओवादी पोलिट्ब्यूरो सदस्यद्वय देवी खड्का, गंगा कार्की एवं दोलखा जिल्ला अध्यक्ष विशाल खड्कालाई प्रतिवादी बनाएर व्यक्ति हत्याको घटनामा जिल्ला अदालत दोलखामा मुद्दा दायर भएको छ । दोलखा जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरूसहित ४० जनाविरुद्ध हत्या मुद्दा दर्ता गरेको हो ।

गत बैशाख २६ गते स्थानीय तह निर्वाचनमा भएको झडपका क्रममा मध्यरातमा गौरीशंकर गाउँपालिका–२ स्थित रेशमडाँडामा एमाले कार्यकर्ता कुलबहादुर तामाङको हत्यामा उनीहरू संलग्न रहेको भन्ने किटानी जाहेरी एवं प्रहरीको अनुसन्धान प्रतिवेदन आधारमा मुद्दा दायर भएको हो । देवी खड्का पूर्व राज्यमन्त्रीसमेत थिइन् । हत्या गरिएका कुलबहादुर एमाले वडा सदस्य उम्मेदवारका गोरे तामाङका छोरा थिए ।

हत्यामा संलग्न भएको भन्दै प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार दोलखा जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । जिल्ला अदालतका श्रेष्तेदार कुलप्रसाद दाहालले मुद्दा दर्ता भएको बताउँदै अब कानूनी प्रक्रिया अघि बढ्ने जानकारी दिए । ‘मुद्दा अदालती प्रक्रियामा प्रवेश गरेको छ । आजदेखि यसमा थुनछेक बहस सुरु हुन्छ’, उनले भने ।

सदरमुकाम चरिकोटदेखि ५८ किलोमिटर पूर्वको जुँगु गाउँमा उक्त घटना भएको थियो । तामाङ हत्यामा प्रतिवादी बनाइएका माओवादी नेता एवं पूर्व सांसद देवी खड्का, जिल्ला अध्यक्ष विशाल खड्का र पोलिट्ब्यूरो सदस्य गंगा कार्कीको राजनीतिक पृष्ठभूमि यही गाउँसँग जोडिन्छ ।
माओवादीसँगको झडपमा मारिएका कुलबहादुर तामाङ ३३, यसअघि वाईसीएलका कार्यकता थिए । गत चैत्र २५ गते उनी एमालेमा प्रवेश गरेका थिए । कुलबहादुरका पिता गोरे तामाङलाई एमालेले वडा सदस्यको उम्मेदवार बनाएपछि उनी बुबाको चुनावी अभियानमा होमिएका बखत उनको ज्यान गएको थियो । घटनामा एमाले निकट शिक्षक दिलबहादुर गम्भीर घाइते भएका थिए ।

देवी खड्कामाथी आक्रमण प्रयास भएपछि झडप भएको माओवादीले दाबी गर्दै आएको छ । घटनामा संलग्न नभएका आफ्ना नेता र कार्यकर्तालाई किटानी जाहेरी दिएर एमालेले घटनालाई राजनीतिक रूपमा प्रतिशोध लिन खोजेको माओवादीले आरोप लगाउँदै आएको छ ।
आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....