मत बदर नहोस भन्दै सुनसरीमा नमुना मतदान

सुनसरी, जेठ २२ ।
जिल्ला निर्वाचन कार्यालय सुनसरीले बदर मत कम गर्न जिल्लाको एक स्थानमा आइतबार नमुना मतदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यालयले कोसी गाउँपालिकाको नहर चोकमा नमुना मतदान कार्यक्रम सम्पन्न गरेको हो । गाउँका स्थानीयलाई मतदान गर्न सिकाउने र बदर मत कम गर्ने उद्देश्यले कोसी गाउँपालिकाको नहर चोक मतदान केन्द्रमा नमुना मतदान गरिएको हो ।
नमुना मतदानमा स्थानीय दलका प्रतिनिधि र केही स्थानीयको सहभागिता रहेको थियो । निर्वाचन कार्यालयले अन्य केही ठाउँमा समेत नमुना मतदान गरेको जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइराला, प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, प्रहरी उपरीक्षक पोषराज पोखरेल, सशस्त्र प्रहरी, नेपाली सेना र अन्य सरोकारवालासहितको टोलीले मतदातालाई निर्वाचनमा मतदान गर्ने तरिका, केन्द्रको व्यवस्थापनलगायतका विषयमा जानकारी गराएको थियो ।
नमुना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदाता परिचयपत्र रूजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रूजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारलाई मत दिन सिकाइएको थियो । स्वस्तिक छाप लगाए पश्चात् मत बदर नहुने गरी पट्याउने विधि पनि सिकाइएको थियो ।
प्रतिक्रिया