नेकपा माओवादीको आठौँ महाधिवेशन आज उद्घाटन हुँदै

काठमाडौं, फागुन १ ।
२२ औँ माओवादी जनयुद्ध दिवसको अवसर पारेर आज नेकपा माओवादीको आठौँ महाधिवेशन राजधानीमा उद्घाटन हुने भएको छ ।
काठमाडौंको खुलामञ्चमा विशाल जनसभासहित पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन समारोहमा विप्लवले पार्टीको नीति र कार्यक्रमबारे सम्बोधन गर्ने तयारी रहेको छ ।
उद्घाटन मध्यान्ह १२ बजेपछि सुरु हुने पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिएका छन् । त्यसअघि, लैनचौर, कालीमाटी, बबरमहल, बालाजु, लगनखेललगायतका स्थानबाट र्याली निकालिने छ भने र्यालीको नेतृत्व पार्टीका नेताहरूले गर्ने छन् । र्यालीपछि खुलामञ्चमा केन्द्रित हुने प्रवक्ता प्रकाण्डले बताए ।
खुलामञ्चमा शहीदको प्रतिमासमेत राखेर महाधिवेशन उद्घाटनको तयारी गरिएको छ । उद्घाटनमा राजधानी र राजधानी आसपासबाट ठूलो संख्यामा कार्यकर्ता तथा जनताको उपस्थिति रहने र देशभरीबाट प्रतिनिधि पर्यवेक्षक र उद्घाटन सत्रमा सहभागी हुन कार्यकर्ताहरू राजधानी आउने क्रम पनि जारी रहेको प्रकाण्डले बताए ।
खुल्लामञ्चमा आज करिब ५० हजारभन्दा बढी जनता र कार्यकर्ता सहभागी हुने माओवादीले जनाएको छ । उद्घाटनपछि बन्द सत्र रोल्पाको थवाङ्गमा हुने छ । थवाङ्गमा फागुन ५ गतेबाट बन्द सत्र सुरु हुने जनाइएको छ ।
प्रतिक्रिया