प्रहरी परिचालन गरी स्ववियु चुनाव घोषित मितिमा नै गर्ने निर्णय

काठमाडौं, फागुन ४ ।
करिब आठ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन घोषित मिति यहीँ फागुन १४ गते शनिबारका दिन हुने निश्चित भएको त्रिभुनव विश्वविद्यालयले स्पष्ट पारेको छ ।
त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालसँग त्रिवि शिक्षाध्यक्षसहित तीन मुख्य पार्टीका संगठन हेर्ने इञ्चार्ज र नेविसंघ, अनेरास्ववियु र अखिल (क्रान्तिकारी)का पदाधिकारीसँग आज बालुवाटारमा बैठक बसी उक्त निर्णय गरेको हो ।
शीर्ष तीन दलका विद्यार्थी संगठनका अध्यक्ष, त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रारसमेतलाई प्रम दाहालले आवश्यक सुरक्षा व्यवस्था मिलाई दिने आश्वासन दिँदै निर्वाचनको वातावरण बनाउन सम्बन्धित पक्षलाई निर्देशनसमेत दिएका छन् ।
यसैबीच, बैठकमा क्याम्पसमा लगाएको तालाबन्दी तत्काल खोल्ने सहमतिसमेत भएको छ । स्ववियु चुनावका लागि भर्ना हुन छुट भएका विद्यार्थीहरूलाई अबको एक दुई दिन भर्ना समय दिने सहमति पनि भएको छ । बैठकले चुनावको क्रममा कुनै गलत प्रकृतिको गतिविधि नहोस् भनी सेना, प्रहरीसमेत परिचालन गर्ने निर्णय गरेको छ ।
राजधानीसहित देशका अधिकांश क्याम्पसहरूमा विभिन्न माग राखी विद्यार्थीहरू आन्दोलनमा रहेका समय आवश्यक वातावरण निर्माण गरी निर्वाचन आगामी फागुन १४ गते नै गर्न माउ पार्टीहरू एकमत भएका हुन् ।
त्रिविको २८ वर्षे उमेर हदसहित मिश्रित निर्वाचन प्रणालीमा चुनाव हुन लागेको हो । कांग्रेस निकट नेविसंघले २८ वर्षे उमेर हदबन्दी खारेजीको माग गर्दै उपत्यकाका अधिकांश क्याम्पसमा तालाबन्दी गरेको छ भने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी समर्थित विद्यार्थीहरूले निर्वाचनको मिति सार्नुपर्ने माग गर्दै आन्दोलन गरिरहेका छन् ।
सुरक्षा व्यवस्था तथा क्याम्पसहरूमा जारी आन्दोलनबारे गृहमन्त्री विमलेन्द्र निधिले आजै उपत्यकामा रहेका क्याम्पसका प्रमुख, केन्द्रीय निर्वाचन समितिका पदाधिकारी, आन्दोलनरत संगठनका प्रतिनिधिसँग छलफल गर्ने तयारी गरेका छन् ।
प्रतिक्रिया