विश्व शिखर बैठकमा सहभागी हुन राष्ट्रपति भण्डारी जेनेभामा

काठमाडौं, असार १ ।
राष्ट्रपति विद्यादेवी भण्डारी स्वीट्जरल्याण्डको जेनेभामा आयोजना भइरहेको ‘१०६ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’ को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’ मा सहभागिता जनाउन बुधबार जेनेभा पुगेकी छन् ।
उनलाई जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलमा जेनेभास्थित संयुक्त राष्ट्र सङ्घ तथा अन्तर्राष्ट्रिय सङ्गठनका लागि स्वीट्जरल्याण्डका स्थायी प्रतिनिधि आमादो पेरेज तथा जेनेभा क्यान्टोनका नायब शिष्टाचार महपालले स्वागत गरेका थिए ।
साथै उनलाई अन्तर्राष्ट्रिय श्रम सङ्गठनका सहायक महानिर्देशक तथा एशिया तथा प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक तोमोको निसिमोतो, सङ्गठनका महानिर्देशकका कार्यालयका वरिष्ठ सल्लाहकार सेन्जी ली र सङ्गठनका वरिष्ठ शिष्टाचार अधिकृतहरूले पनि स्वागत गरेका थिए ।
साथै उनलाई स्वीट्जरल्याण्डका लागि नेपालका राजदूत तथा संयुक्त राष्ट्र सङ्घका लागि स्थायी प्रतिनिधि दीपक धिताल तथा राजदूताबासका वरिष्ठ अधिकृतहरूले पनि स्वागत गरे ।
राष्ट्रपति भण्डारीका साथमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी, राष्ट्रपतिका स्वकीय सचिव डा. विमला पौडेल राई तथा परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकृतलगायत सहभागी रहेका थिए ।
प्रतिक्रिया