रु. २ करोडभन्दा बढीको सुन, हिरासहित कामपा प्युखाबाट चार पक्राउ

काठमाडाैं, जेठ २८ ।
प्रहरीले २ करोड १ लाख रुपैयाँभन्दा बढी रकम बराबरको सुन, हिरा तथा पत्थरको गहनासहित चार जना नियन्त्रणमा लिएको छ । काठमाडौं-२२ प्युखा कृष्ण चोकबाट चारै जनालाई समानसहित नियन्त्रणमा लिइएको जनाएको छ ।
पक्राउ पर्नेहरूमा भारतको कलकत्ता घर भई काठमाडौं-२२ बस्ने ४३ वर्षीय हरिवोर सेख, सोही ठाउँका ३९ वर्षीय सुरोजित दास, ४० वर्षीय तमोल साद्रा र १६ वर्षीय सामुहिम सेख रहेको प्रहरीले जनाएको छ ।
उनीहरूले काठमाडौंमा मुन्ना जेम एण्ड ज्वेलर्स सञ्चालन गरी बिल भरपाई नभएका सुनचाँदी तथा हिराका गरगहना बिक्री वितरण गरिरहेको भन्ने सूचना प्राप्त भई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर, काठमाडौं तथा प्रहरी वृत्त जनसेवा समेतबाट खटिएको संयुक्त प्रहरीको टोलीले निज हाविबोर सेखले सञ्चालन गरेको मुन्ना जेम एण्ड ज्वेलर्समा रितपूर्वक खानतलासी गर्दा फेला परेका बिल भरपाई बिनाका सामाग्रीहरू बरामद गरेको जनाएको छ ।
उनीहरूलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभागमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया