दुई नेपाली युवाले विकास गरेको जीवन उपयोगी प्रविधि

काठमाडौं, असार ६ ।
प्रायः पक्षघातका बिरामी हातखुट्टा, शरीर चलाउन नसक्ने, बोल्न नसक्नेजस्ता समस्याबाट ग्रसित हुन्छन् । उनीहरूको चाहना र आवश्यकता बुझ्न अभिभावक तथा रेखदेख गर्नेलाई कठिन हुन्छ ।
तर, नेपालमै यस्तो प्रविधि विकास भएको छ, जसले बिरामीको चाहना र आवश्यकता अभिभावक र रेखदेख गर्नेको मोबाइलमा सन्देशका रूपमा पठाउनेछ ।
दुई युवा अनुसन्धानकर्ताले विकास गरेको प्रविधि शरीरमा राखेपछि बिरामीले सोचेको कुरा मोबाइलको म्यासेज बक्समा पुग्नेछ र सो अनुसार बिरामीको कुरा बुझ्न अभिभावकलाई सहज हुनेछ ।
अनुसन्धानकर्ता युगेश पाण्डे र अंकित शाहले ८ महिना लगाएर विकास गरेको प्रविधिले पक्षघातका बिरामीको जीवन सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ ।
शरीरमा जडान गरिएको ‘ईईजी’ नामको मेसिनले बिरामीको दिमागबाट उत्पन्न भएको माइक्रोभोल्ट (बिटा ब्रेन वेभ) विश्लेषण गरेर कम्प्युटरको सफ्टवेयरमार्फत मोबाइलमा सूचना दिन्छ ।
अनुसन्धानकर्ता पाण्डेकाअनुसार कम्प्युटरको स्क्रिनमा हरेक पाँच/पाँच सेकेन्डमा बिरामीका आवश्यकता र चाहनाका सूची आउँछन् । बिरामीले आफ्नो आवश्यकतामा सोचाइ बढाउँछन् र त्यो आवश्यकता वा चाहना छनोट भएर मोबाइलमा म्यासेज जान्छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले उक्त प्रविधि विकास र मेसिन निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो । अहिले यो प्रविधि नास्टमै राखिएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पनि यो प्रविधि बिरामीमा प्रयोग गर्न ‘इथिकल एप्रुवल’ दिएको छ । ‘धेरै प्रकारका पक्षघातका बिरामी हुन्छन् । उनीहरूलाई यो प्रविधि प्रयोगका लागि तालिम दिनुपर्ने हुन्छ । जसले तालिम सफलतापूर्वक सम्पन्न गर्न सक्छन्, उनीहरूले त्यस्तो प्रविधि प्रयोग गर्न सक्छन्’, अनुसन्धानकर्ता शाहले भने, ‘प्रविधि प्रयोगका लागि ४५ हजार रुपैयाँसम्म शुल्क लाग्नेछ ।’
नेपालमा पहिलोपटक विकसित प्रविधि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पहिलो पटक प्लस टु उत्तीर्ण गरेका विद्यार्थीलाई बिरामीमा प्रयोग गर्ने अनुमति दिएको हो ।
नास्टले प्रविधि विकासमा विश्वास गरेकाले आफूहरू सफल भएको शाहको भनाइ छ । उक्त प्रविधि पक्षघातका दुई जना बिरामीमा प्रयोग भइसकेको छ ।
आवश्यक पर्ने बिरामी तथा स्वास्थ्य संस्थालाई संयुक्त रूपमा दिने योजना उनीहरूको छ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं म्यागासेसे पुरस्कार विजेता महावीर पुनले उक्त प्रविधि प्रोत्साहन गरेका थियो भने केन्द्रबाट पनि प्रविधिको विकास र विस्तार गर्ने योजना छ । अनुसन्धानकर्ताका अनुसार केन्द्रले पनि बिरामीलाई आवश्यक तालिम दिन सक्छ ।
यो समाचार आजको अन्नपूर्ण पोष्टबाट खबर छ ।
प्रतिक्रिया