व्यापारी श्रेष्ठको अपहरण र हत्यामा १७ वर्षीया युवतीको हात, सूचना दिनेलाई एक लाख

दाङ, असार १७ ।
लामो समयसम्म बेपत्ता भएका तुल्सीपुरका व्यापारी राजकुमार श्रेष्ठको हत्या भएको पर्दाफास भएसँगै स्थानीय प्रहरी प्रशासनले नयाँ कुराको खुलासा गरेका छन् ।
प्रहरी सार्वजनिक गरेअनुसार व्यापारी श्रेष्ठको अपहरणपछि भएको हत्यामा १७ वर्षीया पुजा घर्तीमगर संलग्न रहेको तथ्य प्रहरीले सार्वजनिक गरेको छ । गत जेठ २६ गते साँझ करिब साढे ७ बजे पुजाले नै टेलिफोन गरेर व्यापारी श्रेष्ठलाई बोलाएको र त्यसपछि अपहरणमा परेको तथ्य प्रहरीले सर्वजनिक गरेको हो । अपहरणमा संलग्न चार जना पक्राउ परे पनि युवती भने फरार रहेकी छन् । फरार रहेकी युवतीका बारेमा सूचना दिनेलाई प्रहरीले एक लाख रुपैयाँ पुरस्कार दिने घोषणासमेत गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ शान्तिनगरकी पुजा घर्तीमगरले व्यापारी श्रेष्ठलाई पौने ७ बजे टेलिफोन गरेकी थिइन् । उनकै फोनको आधारमा व्यापारी श्रेष्ठ आफ्नो निजी सवारी साधन लिएर घरबाट निस्केका थिए ।
युवतीसँग निजी सवारी साधनमा गइरहेका बेला रमेश भन्ने मनबहादुर पुनमगर, रुगत थापामगर, अविरल महतरा र जमा पुन र टीकाराम घर्तीले श्रेष्ठलाई अपहरण गरी सल्यानमा पुर्याएका थिए ।
घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने तीन जना अझै फरार रहेका छन् । फरार हुनेमा युवतीसमेत छिन् । सल्यानको छत्रेश्वरी ओडारमा हत्या गरी फालिएका व्यापारी श्रेष्ठको शव प्रहरीले परिवारलाई बुझाई सकेको छ । व्यापारी श्रेष्ठको आजै अन्त्येष्टिसमेत भइसकेको छ ।
प्रतिक्रिया