३०७ स्थानीय तहको मतपरिणाम घोषणा, २७ वटाको परिमाण आउन बाँकी

काठमाडौं, असार २१ ।
दोश्रोे चरणको स्थानीय निर्वाचनअन्तर्गत हालसम्म तीन सय सात स्थानीय तहका मतपरिणाम घोषणा भएको छ । सो निर्वाचन यहीँ असार १४ गते तीनवटा प्रदेशअन्तर्गत ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि मतदान भएको थियो ।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) का अनुसार प्रदेश नम्बर १ का एक सय १९, प्रदेश नम्बर ५ का एक सय चार र प्रदेश नम्बर ७ का ८४ स्थानीय तहको मत परिणाम घोषणा भइसकेको छ ।
योसँगै २७ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य पूरा भएको छ भने २७ स्थानीय तहको मतपरिणाम घोषणा हुन बाँकी छ ।
आज दिउँसो ३ः३० बजेसम्मको मतगणनाअनुसार, नेकपा (एमाले) १३५, नेपाली कांग्रेस ११६, नेकपा (माओवादी केन्द्र) ३६, सङ्घीय समाजवादी फोरम छ, लोकतान्त्रिक फोरम नेपाल छ, राप्रपा चार, राष्ट्रिय जनमोर्चा दुई र स्वतन्त्र उम्मेदवार दुई स्थानमा स्थानीय तहको प्रमुख/अध्यक्ष पदमा निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै, उप–प्रमुखमा एवं उपाध्यक्षमा एमाले १५७, कांग्रस ९९, माओवादी केन्द्र ३७, सङ्घीय समाजवादी फोरम नेपाल पाँच, लोकतान्त्रिक फोरम नेपाल पाँच, राष्ट्रिय जनमोर्चा दुई, राप्रपाका दुई स्थानमा विजयी भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताएका छन् । ।
हाल आठ जिल्लाका २४ स्थानीय तहमा मतगणना भइरहेको छ भने तीन स्थानीय तहमा मतगणना स्थगित भएको छ । मतगणना स्थगित भएका स्थानीय तहमा सुनसरीको धरान, झापाको अर्जुनधारा र कञ्चनपुरको पुनर्वास नगरपालिका हुन् ।
दोश्रो चरणको स्थानीय तहको तीन सय ३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधि चयन हुने छन् । यस निर्वाचनमा ४७ लाख ४० हजार पाँच सय २२ मत खसेको थियो ।
प्रतिक्रिया