दुई दिनपछि धरानको मतगणना प्रारम्भ

इटहरी, असार २२ ।
धरान उपमहानगर–९ को मतगणना चलिरहँदा गणकले गलत मनसाय राखी एउटा पार्टीले प्राप्त गरेको मत अर्कै पार्टीका लागि योगफल तयार पारिदिएपछि उत्पन्न समस्याले राति अबेरसम्म चलेको बैठकले निकास निकालेको छ ।
बैठकले निकास निकाल्दै आज बिहानदेखि ५९ घण्टापछि अर्थात दुई दिनपछि अवरुद्ध रहेको मतगणना चालु हुने भएको छ ।
प्रमुख निर्वाचन अधिकृत अर्जुनकुमार कोइरालाको प्रमुख सक्रियतामा राति अबेरसम्म धरानमा चलेको बैठकले यसअघिका निर्वाचन अधिकृत जयप्रसाद महतको सट्टामा अर्का मतदान अधिकृत कमल थापालाई नियुक्त गरी वडा नम्बर १ देखि ८ सम्म गनि सकिएको मतको पुनः रुजु गर्ने र गणना भइरहेको वडा नं. ९, १० र ११ को मत पुनः गणना गर्ने सहमति भएपछि मतगणना सञ्चालन हुने पक्का भएको हो । अब कसैले पनि गल्ती दोहोरिन नदिनका लागि सतर्कता अपनाउने पनि सहमति भएको बताइएको छ ।
मतगणकका रूपमा रहेका दुई कर्मचारीले गरेको नियोजित गल्तीप्रति गम्भीर आपत्ति जनाउँदै आएको नेकपा (माओवादी केन्द्र) लगायतका राजनीतिक दलको आग्रहमा ती कर्मचारीहरू हाललाई निलम्बित भएको बताइएको छ भने अरू बाँकी ती कर्मचारीले कस्तो सजाँय पाउने हुन् भन्ने यकिन भइसकेको छैन । गणना भइसकेको वडाको नतिजाअनुसार वडा नं. १ र २ मा नेपाली कांग्रेसले सबै पद जितेको छ भने ३, ४, ५, ६, ७ र ८ वडामा नेकपा (एमाले)ले जित निकालेको छ ।
धरान उपमहागनरको कूल ८० हजार मतदातामध्ये ५३ हजार आठ सय १२ जना मतदाताले मात्र मतदानमा सहभागिता जनाएर मत हालेका छन् ।
प्रतिक्रिया