सरकार विस्तार गर्ने तयारी, राप्रपाले मागे उपप्रधानमन्त्री, सरकार भन्छ सकिन्न

प्रकाशित मिति: २४ असार २०७४, शनिबार ०९:०४


काठमाडौं, असार २४ ।
प्रधानमन्त्री निर्वाचित गर्ने क्रममा शेरबहादुर देउवाको पक्षमा मतदान गरेको नेकपा माओवादी केन्द्रबाहेकका दलहरू सरकारमा जान तम्सिएका छन् । जसमा राप्रपा, लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम, अखण्ड पार्टी र समाजवादी जनता पार्टी सरकारमा जान इच्छुक भए तापनि प्रमुख सत्तारुढ कांग्रेससँग छलफल गर्न पाएका छैनन् । मुख्य सत्ता साझेदार माओवादी केन्द्रसँग मन्त्रालय भागबण्डा नटुंगिएकाले साना दलसँग छलफल गर्न नसकिएको कांग्रेस नेताहरूले बताएका छन् ।

सरकारमा सहभागी गराउने विषयमा कांग्रेसले संघीय समाजवादी फोरमसँग अहिलेसम्म छलफल गरेको छैन । निर्वाचनका क्रममा नेताहरू जिल्लामा रहेकाले छलफल हुन नपाएको फोरमका प्रमुख सचेतक डा. शिवजी यादवले बताए । ‘कांग्रेससँग पनि छलफल भएको छैन, केही दिनमा होला,’ उनले भने । समाजवादी फोरमको संसद्मा १४ सिट रहेको छ ।

यसैबीच, सरकार गठनका बेला कांग्रेसले नेकपा संयुक्तलाई सरकारमा सहभागी गराउने बचन दिएको थियो । त्यसपछि भने कुनै छलफल नभएको पार्टी अध्यक्ष गणेश शाहले बताए । तर पनि वातावरण मन्त्रालय दिने सहमति भएको उनले बताए । ‘भद्र सहमति पालना गरे सरकारमा भाग पाउनुपर्ने हो,’ साहले भने संसद्मा संयुक्तको तीन सिट छ ।

देउवाको उम्मेदवारीमा समर्थक रहेका समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले मन्त्रालय पाउने सहमति नभएको बताएका छन् । ‘मन्त्रालय पाउने सहमति भएर समर्थन गरेको होइन, मन्त्री बनाउने–नबनाउने भन्ने निर्णय प्रधानमन्त्रीले दिने हो,’ उनले भने, समाजवादी पार्टीको एक सिट छ । देउवाको समर्थक बनेका अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्काले सरकारमा सहभागिताबारे छलफल नभएको बताए । ‘सरकार गठनका बेला प्रचण्ड नेतृत्वको सरकारमा सहभागी दललाई दोहोर्‍याउने बचन दिनुभएको थियो । अहिले कुनै कुरा आएको छैन,’ खड्काले भने । संसद्मा अखण्ड पार्टीको एक सिट छ ।

त्यसैगरी, सम्मानजनक स्थान पाए सरकारमा जाने राप्रपाले जनाएको छ । उसले सरकारमा पार्टीको सहभागिताबारे छलफल गर्न जयन्त चन्दको संयोजकत्वमा वार्ता टोलीसमेत बनाएको छ । टोलीले कांग्रेस र माओवादी केन्द्रको कार्यदलसँग दुई पटक छलफल गरिसकेको छ । सरकारमा जाने पक्षमा पार्टी सकारात्मक रहेको बताउँदै चन्दले एक–दुई दिनमा वार्ता गरी ठोस निष्कर्ष निकाल्ने बताए । ‘हामीभन्दा सानो पार्टीले उपप्रधानमन्त्री पाएको छ, त्यसैले हामीले पनि पाउनुपर्छ,’ चन्दले भने । आफ्ना मागप्रति कांग्रेस र माओवादी लचिलो रहेको चन्दले बताए । प्रधानमन्त्री देउवाले राप्रपालाई चार मन्त्रालय दिने, तर, उपप्रधानमन्त्री दिन नसक्ने बताउँदै आएका छन् ।

यता, लोकतान्त्रिक फोरमले तीन मन्त्रालय पाउने भएको छ । प्रचण्ड नेतृत्वको सरकारमा पार्टीले पाएका मन्त्रालय लिएर सरकारमा जाने सहमति कांग्रेससँग भएको महामन्त्री रामजनम चौधरीले बताए । ‘प्रचण्ड नेतृत्वको सरकारमा पाएका मन्त्रालय दिने सहमति कांग्रेससँग भइसकेको छ,’ ‘हामीले पुरानै मन्त्रीलाई निरन्तरता दिने जानकारीसमेत कांग्रेसलाई दिइसकेका छौँ ।’ पार्टी अध्यक्ष विजयकुमार गच्छदार उपप्रधानमन्त्रीसहित संघीय मामिला तथा स्थानीय विकासमन्त्री भइसकेका छन् । यसअघि, जितेन्द्रनारायण देवले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र डा. गोपाल दहितले भूमिसुधार तथा व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । संसद्मा लोकतान्त्रिक फोरमको १७ सिट रहेको छ ।
आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

जसपाका सांसद् सराेज सिंह काठमाडाैंकाे अनामनगरबाट पक्राउ

काठमाडाैं, जेठ २९ । जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेशका सांसद् सरोज सिंह कुशवाहा.....