३३० स्थानीय तहमा मत परिणाम घोषणा, चार तहको मात्र आउन बाँकी

काठमाडौं, असार २४ ।
दोश्रो चरणअन्र्तगत स्थानीय तहको असार १४ गते भएको निर्वाचनको हालसम्म ३३० स्थानीय तहको मतपरिणाम घोषणा भएको छ ।
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माकाअनुसार, हालसम्म ३१ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य पूरा भएको छ । अहिले चार जिल्लाका चार स्थानीय तहमा मतगणना जारी रहेको छ । देशका १, ५ र ७ नम्बर प्रदेशका ३५ जिल्लाका तीन सय ३४ स्थानीय तहका लागि दोश्रो चरणमा निर्वाचन भएको थियो ।
पछिल्लो मतगणनाअनुसार, नेकपा एमाले एक सय ४८, नेपाली कांग्रेस एक सय २१, नेकपा (माओवादी केन्द्र) ३८, सङ्घीय समाजवादी फोरम आठ, नेपाल लोकतान्त्रिक फोरम नेपाल छ, राप्रपाका चार र राष्ट्रिय जनमोर्चाका दुईजना उम्मेदवार प्रमुख/अध्यक्ष पदमा विजयी भएका छन् । त्यस्तै तीनजना स्वतन्त्र उम्मेदवार पनि प्रमुख/अध्यक्ष पदमा विजयी भएको आयोगले जनाएको छ ।
दोश्रो चरणको निर्वाचनको हालसम्म घोषित स्थानीय तहको परिणाममध्ये प्रमुख/अध्यक्षमा पदमा नेकपा एमालेले सबै भन्दा धेरै अर्थात ४४.८ प्रतिशतमा पदमा विजयी हासिल गरेको छ भने नेपाली कांग्रेसले ३६.७ र माओवादी केन्द्रले ११.५ प्रतिशत पद जितेका छन् ।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) का अनुसार प्रदेश नम्बर– १ का एक सय ३४, प्रदेश नम्बर ५ का एक सय नौ र प्रदेश नम्बर ७ को ८७ स्थानीय तहको अन्तिम मतपरिणाम घोषणा भइसकेको छ ।
उप–प्रमुख एवं उपाध्यक्षमा नेकपा एमाले एक सय ७२, नेपाली कांग्रेस एक सय तीन, नेकपा माओवादी केन्द्र ३८, सङ्घीय समाजवादी फोरम नेपाल सात, नेपाल लोकतान्त्रिक फोरम छ, राष्ट्रिय जनमोर्चा दुई, राप्रपाका दुईजना उम्मेदवार विजयी भएकोे आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताएका छन् ।
झापाको अर्जुनधारा नगरपालिका, मोरङको विराटनगर महानगरपालिका, सुनसरीको धरान उपमहानगरपालिका र पुनर्वास नगरपालिकामा मतगणना भइरहेको छ ।
दोश्रो चरणको स्थानीय तहको तीन सय ३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन हुने छन् । यस निर्वाचनमा ४७ लाख ४० हजार पाँच सय २२ मत खसेको थियो ।
प्रतिक्रिया