उपराष्ट्रपति पुन चीनको सान्सी प्रान्तस्थित यान्नानमा

काठमाडौं, असार २५ ।
चीन भ्रमणमा रहनुभएका उपराष्ट्रपति नन्दबहादुर पुन सान्सी प्रान्तको यान्नानको भ्रमणमा रहेका छन् । कान्सु प्रान्तको लान्चौमा आयोजित दुई वटा औपचारिक कार्यक्रमलाई छुट्टाछुट्टै सम्बोधन गर्नुभएका उपराष्ट्रपति पुन शनिबार लान्चौ न्यू एरियाबाट सियान हुँदै यान्नान पुगेका हुन् ।
उनले शनिबार यान्नानमा रहेको चीनियाँ जनवादी क्रान्ति स्मृति संग्रहालय र जनवादी क्रान्तिताका चीनियाँ कम्युनिष्ट पार्टीको कार्यालय रहेको स्थानको अवलोकन भ्रमण गर्नुभएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सङ्ग्रहालयमा चीनियाँ क्रान्तिको चरणमा माओत्सेतुङले प्रयोग गर्नुभएका सामग्री र चीनियाँ जनवादी क्रान्ति स्मरण गराउने सामग्री राखिएका छन् ।
माओत्सेतुङले यान्नानलाई आधार बनाएर चीनियाँ जनवादी क्रान्ति अगाडि बढाएका थिए । क्रान्तिताका चीनियाँ कम्युनिष्ट पार्टीको कार्यालय, शीर्ष नेताहरूको निवास भवन, माओत्सेतुङको पत्रपत्रिका पढ्ने स्थानलगायतका अवशेषहरू सुरक्षित राखिएका छन् ।
उपराष्ट्रपति पुनसँग शनिबार साँझ चीनियाँ कम्युनिष्ट पार्टीका सान्सी प्रान्तका स्थायी समिति सदस्य तथा यान्नान नगरका सेक्रेटरी शु शिनरोङले शिष्टाचार भेटसमेत गरेका छन् ।
भेटमा उपराष्ट्रपतिले नेपाल–चीन सम्बन्ध र सहकार्यलाई थप बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया