यू–१९ विश्वकप क्रिकेटअन्तर्गत आज नेपाल सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, श्रावण २ ।
आगामी वर्ष न्यूजिल्याण्डमा आयोजना गरिने यू–१९ विश्वकप क्रिकेट छनौट खेलका लागि आज नेपालले घरेलु टोली सिङ्गापुरसँग भिड्दै छन् ।
दुई साता भारतको नोयडामा तयारी गरेर नेपाली टोली शनिबार सिङ्गापुर गएको थियो । नेपालले भारतमा तयारीसँगै चार वटा अभ्यास खेलसमेत खेलिसकेको छ । अभ्यास खेलमा नेपालले तीन वटामा जित हात पारेको थियो भने एउटामा अनिर्णित अवस्थामा सकिएको थियो । यस्तै एक खेलमा नेपाली टोली पराजित हुन पुगेको थियो ।
एशियाली छनौटअन्तर्गत नेपालको समूहमा आयोजक सिङ्गापुर, मलेसिया र अफगानिस्तान रहेको छ । डबल लिग प्रणालीका आधारमा खेलाइने छनौट खेलको शीर्ष टोलीले न्यूजिल्याण्डमा हुने विश्वकपको ढोका खोल्नेछ । सहभागी टोलीले एक अर्कासँग दुई/दुई खेल खेल्ने छन् । नेपालले १८ जुलाईमा मलेसिया, २० जुलाईमा अफगानिस्तान, २१ जुलाईमा सिङ्गापुर, २४ जुलाईमा मलेसिया र २५ जुलाईमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
समूहका सबै टोलीको स्तर उस्तै रहेकोले नेपालले छनौटको लक्ष्य राखेको भारत प्रस्थान गर्नुअघि टोलीका प्रशिक्षक जगत टमटाले बताएका थिए । लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोलीमा १४ जना खेलाडी रहेका छन् । सिङ्गापुर जानुअघि आईसीसी एशियाका चिफ डेभेलपमेन्ट अफिसर वेन्कटपति राजु, प्रशिक्षक टमाटा र यू–१९ टोलीका मुख्य प्रशिक्षक विनोद दासले अन्तिम टोलीको घोषणा गरेका थिए ।
टोलीमा सन्दीपसँगै सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका दीपेन्द्र सिंह ऐरी, मोहम्मद आसिफ सेख, सन्दीप सुनार, प्रकाश केसी, अनिलकुमार शाह, पवन सर्राफ, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, प्रनित थापामगर, आदिले खान, किशोर महतो, रिजन ढकाल र साहब आलम समावेश रहेका छन् ।
टोलीमा सन्दीप जोरा, विक्रमकुमार भुसाल, रसिद खान र सुशान्तसिंह थापालाई वैकल्पिक खेलाडीको रूपमा समावेश गराइएको छ । भारतमा भएको अभ्यास खेलको प्रदर्शनका आधारमा अन्तिम टोलीको चयन गरिएको थियो ।
प्रतिक्रिया