बाढीपीडितलाई सहानुभूति होइन राहत चाहियो, नेता भन्दा युवायुवती चाहियो

– शपुर सुवेदी
निरन्तर परेको अविरल वर्षाका कारण देशका दर्जनौँ जिल्ला अहिले जलमग्न अवस्थामा रहेको छ । यत्ति मात्र होइन दर्जनौँ घर परिवार अविरल वर्षापछि आएको बाढीपहिरोले आफ्ना सन्तानसमेत गुमाउन पुग्दा पूरै गाउँ नै शोक मग्न छन् । दर्जनौं मान्छे बेपत्ता अवस्थामा रहेको छ भने सयौँको घर–परिवार विस्थापित भएका छन् । यस्तो अवस्थामा पीडित मानिसहरू के गरुँ, कहाँ जाउँ, कहाँ बास बसौँ र के खाउँ भन्ने जटिल अवस्थामा छट्पटिएर बसिरहेका छन् । तर, हाम्रा नेताहरू घाउमा मलम लगाउन भन्दा पनि मलम किन्नलाई पैसाको जोहो गर्न तम्सिएका छन् । कोही प्रभावित जिल्लामा गएर सहानुभूति दिन पुगेका छन् तर, पीडितहरूले यो समयमा सहानुभूति होइन सहयोग र राहतको याचना गरिरहेका छन् । यो अवस्थाको श्रृजना भएलगत्तै विभिन्न राजनीतिक दलहरूले दैवी प्रकोप जस्ता कोष सञ्चालन गरेका छन्, यो नराम्रो होइन, राम्रो हो तर, अहिले सहानुभूतिका लागि पुगेका विशिष्ट नेताहरूले किन सोच्न सकेन, आफूहरू गएर सहानुभूति दिनुभन्दा पनि राजधानीबाट त्यहाँ अहिले अत्यावश्यक रहेको खाद्यान्न, औषधि, मलम, लुगाफाटा, कपडालगायत अत्यावश्यक वस्तु वितरण गरेर कमसेकम एकछिनको लागि भए पनि न्यानोको अनुभूति गरुन् र राहतको महशुस गरुन् तर, त्यसो हुन सकेन । निरीक्षण गरेर निर्देशन दिनुबाहेक तत्काल राहत उपलब्ध गराउनेतिर लागेन ।
गृह मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्कअनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या ९१ जना पुगेको छ भने ३८ जना बेपत्ता रहेका छन् र २५ जना घाइते भएर उपचाररत् छन् । तर, अझै पनि पूर्ण विवरण भने आउन बाँकी नै रहेको छ ।
सुरुमा हामी आम नेपाली जनता हौँ, त्यसपछि मधेश, पहाड, तराईको कुरा गरौँ । त्यसैले राजधानीमा यो घटना घटेन तर, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, मोरङ, सुनसरी र झापालगायत क्षेत्रमा बाढीपहिरोका कारण दर्जनौँ व्यक्तिले ज्यान गुमाउन पुग्दा के हामी राजधानीबासी मुटुमा ढुङ्गा राखेर बस्न सक्छौँ ? जत्तिको संख्यामा मृत्यु भए उनीहरू सबै नेपाली नै हुन् अनि कसरी हाम्रो मुटु मात्र खिया खिया नहोस् ?
यस्तो परिस्थितिमा विभिन्न सञ्चारमाध्यमले प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री विजयकुमार गच्छदार, गृहमन्त्री जनार्दन शर्मासहितको टोलीले बाढीपहिरोबाट अतिप्रभावित जिल्लाको अवलोकन गरेको समाचार सुन्दा सबैलाई अचम्म लाग्नु स्वाभाविक हो । यो समय अवलोकनभन्दा पनि बाढीपहिरोबाट पीडित भएका नेपाली जनतालाई राहत दिने समय हो, न त कुनै यति लाख रुपैयाँ सहयोग, यति लाख रुपैयाँ अनुदान भनेर आश्वासन दिनुले घाउमा मलम होइन उल्टो नुन, खोर्सानी छरे सरह भएको छ ।
बाढीपहिरोले पीडित बनेका ती नेपालीहरू अहिले आफूभन्दा पनि आफ्ना स–साना बालबच्चाहरूलाई कसरी बचाउने, के खुवाउने, के लाउन दिने, कहाँ सुत्न दिने भन्ने समस्याले तनाव बनेका छन् । यत्ति मात्र नभई त्यसमा सयौँ बिरामीसमेत भएका होलान् उनीहरूलाई औषधि कहाँबाट ल्याउने भन्ने समस्याले पिरोलिरहेको छ, तर हाम्रा देशका नेताहरू कोषमा पैसा जम्मा गर्न विभिन्न बैंकमा खाता खोलेर, कसैले एक महिनाको तलब दिने, कार्यकर्ताहरूसँग एक दिनको तलब कटाएर जम्मा गर्ने भन्ने ध्याउन्नमा छन् । यसको मतलब यो कुरा गलत होइन, राम्रो कुरा हो तर, त्यो कुरालाई पनि निरन्तरता दिई तत्काललाई अत्यावश्यक लत्ताकपडा, औषधि, खाद्यान्नलगायत वस्तु त्यहाँसम्म पुर्याएर अलिकति भए पनि पीडितहरूको घाउमा मलम लगाएको भए सायद उनीहरूको आशिष पनि लाग्थ्यो की ? अर्काेतर्फ नेपाली सेनाले अाफ्नाेतर्फबाट दिनरात नभनी उद्दार कार्यमा सक्रिय भएर खटिरहेका छन् ।
जसरी २०७२ सालमा गएको विनाशकारी महाभूकम्पबाट पीडितहरूलाई राहत दिन सयौँ मानिस प्रभावित जिल्लामा आफू स्वयम् पुगेर आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न तत्काल पुगेर राहत उपलब्ध गराएका थिए, त्यसरी नै देशका विशिष्ट नेताहरू लाखौँ, करोडौँ रुपैयाँ पर्ने पजेरोमा शयर गर्न सकिन्छ तर, तत्काल त्यहाँसम्म राहत पुर्याउन आनाकानी किन ? यदि पार्टीको कार्यक्रम भए रातदिन कार्यक्रमस्थल पुग्न पजेरो चढेर होस् वा हेलिकोप्टर चार्टर गरेर होस् समय अगावै पुग्न सक्ने क्षमता छ भने, पीडितहरूसम्म पुग्ने विकल्प किन सोचेनन् । यदि महिना दिनपछि चुनाव हुने भए यो कुरा कसैलाई सम्झाई रहनु पर्दैन थियो होला तर, चुनाव सकियो अब कोही काम छैन भन्ने भान महशुस गर्न नेपाली जनतालाई बाध्य बनाएको छ । नेपाली जनता सचेत अनि जागरुक छन्, त्यसैले एक–एक हिसाब किताब खातामा लेखेर राखेका छन्, अनि विभिन्न कार्यक्रमहरूमा गएर देशका युवायुवतीहरू बाढीपहिरोबाट पीडितहरूलाई सहयोग गर्न राहत संकलन गर्नतर्फ उन्मुख भइरहेका छन् ।
अब सोचौँ, यो देशमा नेताको कमी की लाज पचाएर ठाउँ–ठाउँमा बसेर पीडितहरूलाई सहयोग गर्न हात फैलाई सहयोगको लागि भिख माग्दै हिँड्ने देशका कर्णधार युवायुवती ठूलो ? अब जनता आफैँले मूल्याङ्कन गर्ने छन्, देशमा नेताभन्दा पनि सक्रिय युवायुवतीको आवश्यक छ । त्यसैले यो समय सहानुभूति होइन, तत्काल राहत चाहिएको छ ।
प्रतिक्रिया