सरकार बाँच्न देऊ, खान, लाउन र सुत्न देऊ…!

प्रकाशित मिति: ३२ श्रावण २०७४, बुधबार ०९:३९


– गोविन्द शर्मा
‘घरमा भएको धान, गहुँ सबै बाढीले बगायो । घर पूरै डुबानमा छ, स्कूलमा बसेका छौं । हामीलाई हेरिदिने कोही भएन…’, १० जनाको परिवारको बिजोग देखाउँदै सप्तरी कुशहा बनरझुलाकी ६० वर्षीया वृद्धा सीतादेवी खंगले भनेको मर्मस्पर्शी वाक्य हुन् यी ।

‘नौ महिनाकी गर्भवती बुहारीको सुत्केरी कसरी गराउने भन्ने चिन्ता छ, न ओढ्ने कपडा छ न बाल्ने दाउरा…’, सप्तरीकै को. बर्साइन गाउँपालिका–१ का रामजी रामको भनाई हो यो । उनी १४ जनाको परिवारसहित एउटा विद्यालयमा आश्रय लिएर बसिरहेका छन् ।

कोइलाडी–८ मुसरी टोलकी ३० वर्षीया सतनीदेवी सदाको आफ्नै समस्याका चाँङ छन् । स्थानीय बासिन्दाले दिएको चाउचाउ र बिस्कुटको भरमा छ जना बालबच्चासहित एक विद्यालयमै बसेकी उनी भन्छिन्, ‘६ दिनदेखि न यी बालबच्चालाई राम्ररी खुवाउन पाएकी छु, न खान पाएको छु । न सुत्न पाएका छौं । आफ्नो रोजगारी पनि छैन । बसेको यो स्कूल पनि खोल्ने कुरो छ, त्यसपछि कहाँ बस्ने ? के खाने ? सबै अन्यौल छ ।’

गौरस्थित देवाहीगोनाही–२ का करिब तीन सय बासिन्दा पाँच दिनदेखि ‘भोक–भोकै’ छन् । दुई दिनसम्म दोहर टोलका दुई सय स्थानीय एउटै घरको छत र पीपलको रुखमा बसेर ज्यान जोगाए ।

बाँकेका बाढीपीडितको हालत उस्तै छ, भन्छन्, ‘हेलिकोप्टर उड्छ मात्रै केही खसाउँदैन । खानेकुरा सबै सकियो, नातिनातिनाको भोकले आफ्नो मन रुन्छ, अब त खान पनि मन छैन । छिमेकीले दिएको त्रिपालमा हिलाम्ये आँगनमा बसेका छौं ।’

कोही हिलाम्ये आँगनमा छन् त कोही चिसो गोठमा । कोही विद्यालयमा छन् त कोही टापुमा । कसैका बालबच्चा छन् त कसैका वृद्धवृद्धा अनि कसैका गर्भवती बुहारी । यसै पनि न्यानो घरमा बिहान खाएपछि बेलुकी खाने केही नहुँदा कन्तबिजोग हुन्छ त्यसमाथी यस्ता सन्तान र अभिभावकलाई हिलो र चिसोमा रातदिन भोकभोकै राख्नु पर्दाको पीडा जिम्मेवार सन्तान र अभिभावकलाई कति होला ? घरभरी टन्न खानेकुरो छ भने भोको मान्छेलाई पनि मानसिक रूपमा अघाएकै महशुस हुन्छ तर, जसको घरमा खानेकुरो केही छैन उसलाई यसै पनि बढी तलतल लाग्छ बढी नै भोकको महशुस हुन्छ । त्यसमा पनि पाँच दिनसम्मको अबिरल वर्षाले निम्त्याएको प्राकृतिक विपत्तिपछिको अवस्था सबैलाई सर्वविदितै छ ।

सुदूर पश्चिमका बाँके मात्र होइन, सुदूर पूर्वका झापा, मोरङका गाउँबस्ती पनि उस्तै पीडामा छन् । संविधान सभामार्फत् जनताले संविधान बनाए तर, त्यही संविधानमा लेखिएका वाक्यहरू नागरिकले पाउने न्यूनतम सेवा, सुविधा र अधिकार गाँस, बास र कपासबाट उनै नागरिक बञ्चित छ, संविधान कार्यान्वयन गर्ने निकाय सरकार टुलुटुलु हेरिरहेको छ । संविधानका हिस्सेदार राजनीतिक दलहरू न्यूनतम अधिकार के हो ? भनेर उत्तर खोजिरहे झैँ गरेको आभाष हुन्छ । अधिकारकर्मी र नागरिक समाज पनि यस्तो दर्दनाक अवस्थामा ‘लाटाले पापा’ हेरे झैँ देखिन्छन् । सिंहदरबार किन ऐन कानूनका मस्यौदा बनाउँछ र संसद् किन त्यसलाई पारित गर्छ ? मन्त्रालयमै थन्क्याउन मात्र हो भने ती ऐन कानूनको अर्थ के ? होइन भने यतिबेला बाढीपीडित लाखौंले न्यूनतम अधिकार खान, लाउन, बस्न र बाँच्न त पाउनु पर्‍यो नि ?

बाढीपीडित भोकभोकै मर्ने अवस्था त छँदैछ, सरकार राहत पुर्‍याउने कुरामा अझै गम्भीर छैन । सरकारको प्रकोप व्यवस्थापनमा पूर्वतयारी त छैन–छैन, विपद्पछि पनि तत्काल उद्दार र राहत दिन सक्दैन । नेपाली जनताले यही देशका नागरिक हौँ भनेर गर्व गर्ने ठाउँ कत्ति पनि दिँदैन सरकार । हिजो मात्र सामाजिक सञ्जाल र सञ्चारमाध्यममा भाइरल बनेको एउटा तस्वीर ६ वर्षीय बालकलाई अन्तिम सद्गत गर्न नपाएर बाढीमै बगाएको दृष्यले सबैलाई रुवायो तर सरकारले एक थोपा आँसु पनि झारेन ।

सरकारको मन ढुङ्गाको हुनुपर्छ नत्र किन जनता/नागरिक रुँदा ऊ रुँदैन ? किन खान दिँदैन ? किन लाउन दिँदैन ? किन बास बस्न दिँदैन ? अरू बेला न जनताले खान, लाउन र बस्न मागेका थिए, न भोलि सामान्य अवस्थामा माग्नेछन् । सहयोग भनेकै आपतविपद्मा हो तर, सरकारले एक सय जनाभन्दा बढी जनता बाढीपीडितका नाममा मरिरहँदा अझै कतिञ्जेल रमिता हेरिरहने हो ? थाहा छैन । लाग्छ, अझै पलपलमा अझै दर्जनौँ नागरिक मरिरहने छन् तर, सरकार केवल रमितै हेरेर बसिरहने छ… !!! ???


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....