राम्रो प्रदर्शन गर्दै आएकी गौरिकाको सागमा स्वर्ण जित्ने लक्ष्य

प्रकाशित मिति: १२ भाद्र २०७४, सोमबार १८:१९


काठमाडौं, भाद्र १२ ।
घरेलु प्रतियोगितामा निकै राम्रो प्रदर्शन गर्दै आएकी स्वीमर गौरिका सिंहले अब १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णपदक जित्नका लागि तयारी गर्ने बताएकी छन् ।

गत साता सातदोबाटोमा सम्पन्न २० औं राष्ट्रिय पौडीमा व्यक्तिगत स्पर्धामा सहभागी पाँचै स्पर्धामा राष्ट्रिय कीर्तिमानसहित स्वर्णपदक जितेकी गौरिकाले भने, ‘१३ औं साग नेपालमा हुँदैछ । नेपालमा सम्भव भएन भने श्रीलंकामा हुन सक्छ । त्यसैले लन्डन फर्केर १३ औं सागको तयारीमा लाग्नेछु ।’

सन् २०१६ फेब्रअरीमा भारतको गुवाहाटीमा भएको १२ औं सागमा गौरिकाले १ रजत र ३ कांस्यसहित चार पदक जितेकी थिइन् । उनी दक्षिण एसियाली खेलकुदमा पौडीको व्यक्तिगत स्पर्धामा नेपाललाई पदक दिलाउने पहिलो र एकमात्र खेलाडी हुन् ।

उनले गुवाहाटीमा व्यक्तिगत सात र रिलेमा तीन गरी १० राष्ट्रिय कीर्तिमान पनि बनाएकी थिइन् । उनले तीन वर्षको स्वीमिङ करिअरमा ३३ कीर्तिमान बनाइसकेकी छन् ।

लन्डनस्थित बार्नेट कोपथल स्वीमिङ क्लबमा पाँच वर्षयता नियमित प्रशिक्षण गरिरहेकी उनले १३ औं सागमा थुप्रै स्वर्णपदक जित्ने योजना बनाएकी छन् । ‘पहिले (१२ औं साग) भन्दा अहिले मेरो प्रदर्शन निकै सुधार भएको छ । त्यसैले थुप्रै स्वर्णपदक जित्न सक्छु,’ १४ वर्षीया गौरिकाले भनिन्, ‘अहिलेको समय हेर्दा पनि थुप्रै स्वर्णपदक जित्न सक्छु । एक वर्षमा झन् राम्रो गर्न सक्छु भन्ने लाग्छ ।’ उनले २ सय र ४ सय मिटर इन्डिभ्युजल मिड्ले, २ सय, ४ सय र ८ सय मिटर फ्रिस्टाइल तथा २ सय मिटर बटरफ्लाईमा सफलता हात पार्ने योजना बनाएकी छन् ।

गत वर्ष ब्राजिलमा भएको रियो ओलम्पिकमा ११ हजार बढी खेलाडीमध्ये सबैभन्दा कम उमेरकी हुँदै चर्चा पाएकी गौरिकाले स्वीमिङ करिअरका लागि लामो योजना नै बनाएकी छन् । ‘अर्को वर्ष एसियाली खेलकुद पनि हुँदैछ , त्यसका लागि कसरी छनोट गर्छ थाहा छैन,’ उनले भनिन्, ‘सन् २०२० मा टोकियोमा हुने ओलम्पिकमा भने छनोट पार गरेरै खेल्ने लक्ष्य राखेकी छु । यसका लागि प्रशिक्षक (रिज गोम्ली) को सुझावअनुसार अभ्यास गर्नेछु ।’

ह्याब्स स्कुल फर गल्र्स, लन्डनमा भर्खरै ९ कक्षा सकाएकी गौरिकालाई रोक्न पौडी संघकै केही पदाधिकारी लागेका थिए । राष्ट्रिय पौडी नै स्थगित गर्ने उनीहरूको प्रयास असफल भएपछि गौरिकाले फेरि सनसनीपूर्ण प्रदर्शन गरेकी थिइन् । ‘राजनीतिले मेरो खेललाई केही असर गर्दैन । ईश्र्या गर्ने धेरै भयो भने मेरो खेल अझ राम्रो हुन्छ र कन्फिडेन्स भएर खेल्ने गर्छु ।’


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....