क्यानका पूर्व अध्यक्ष शाहको निधन

काठमाडौं, भाद्र २१ ।
नेपाल क्रिकेट संघ (क्यान)का पूर्व अध्यक्ष जयकुमार नाथ शाहको आज निधन भएको छ । लामो समयदेखि मुटु रोगबाट ग्रसित ८९ वर्षीय शाहको उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो ।
उनलाई एक साताअघि उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएको थियो । नेपाली क्रिकेट टिमका पूर्व राष्ट्रिय खेलाडी शाहको उपचारका क्रममा आज निधन भएको हो । शाहले वि.सं २०२२ सालदेखि नेपाल क्रिकेट संघको नेतृत्व गरेका थिए ।
उनले लगातार करिब चार दशकसम्म संघको नेतृत्व गरेका थिए । शाहले नेतृत्व गरेपछि नै नेपाल अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुन थालेको हो ।
यसैबीच नेपाल क्रिकेट संघ (क्यान) का निर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले शाहको निधनले नेपाली क्रिकेटमा अपुरणीय क्षति पुगेको बताए । उनको कार्यथलो बैतडीमा रहेका अध्यक्ष चन्दले शाह नेपाली क्रिकेटको सिंगो इतिहास भएको बताए ।
क्रिकेटलाई संस्थागत गर्न शाहको अहम भूमिका रह्यो, उनले नै नेपाली क्रिकेटलाई अहिलेको अवस्थासम्म ल्याईपु¥याउनु भएको हो, अध्यक्ष चन्दले भने ।
शाहको नाममा उनी जीवित छँदै ‘जय ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता’ सञ्चालन भएको थियो । सो प्रतियोगिता २०५८ सालपछि एकाएक रोकियो । उनी एसियाली क्रिकेट परिषद् (एसिसी) को उपाध्यक्ष समेत रहेका थिए ।
गत भाद्र ६ गते काठमाडौंमा सम्पन्न क्यानको विशेष साधारणसभामा शाहलाई युवा तथा खेलकुद मन्त्री राजन केसीले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
९६ वर्षसम्म त बाँच्छु होला, सम्मानित भएपछि साधारणसभामा मन्तव्यका क्रममा शाहले भन्नुभएको कुरा स्मरण गर्दै अध्यक्ष चन्दले भने । शाहले भारतमा क्रिकेट खेल्ने क्रममा ९६ रन बनाउनुभएको थियो । उनी क्रिकेट खेल्दा आफू शतक बनाउनबाट चुकेको कुरालाई बारम्बार स्मरण गर्नुहुन्थ्यो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले शाहलाई सन् २००३ मा लाइफटाइम सर्भिस अवार्डबाट सम्मान गरेको थियो । उक्त पुरस्कार पाउने उनी पहिलो नेपाली हो ।
प्रतिक्रिया