पोखरामा खेल पर्यटनको विकासका धेरै सम्भावना : मन्त्री केसी

पोखरा, भाद्र २६ ।
कास्की जिल्ला टेनिस संघद्वारा आयोजित नेपाल आइटिएफ सिनियर च्याम्पियनसिपको आज उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री राजन केसीले खेलकुदको विकास गर्दै देशमा व्यावसायिक खेलाडी उत्पादन गर्नेतर्फ सरकार लागेको बताएका छन् ।
पर्यटकीय नगरी पोखरामा खेल पर्यटनको विकासका धेरै सम्भावना रहेको उल्लेख गर्दै उनले खेलको विकासका लागि सरकारका साथै उद्योगी, समाजसेवी सबैको साथ र सहयोग आवश्यक हुने बताए ।
खेलको विकासको लक्ष्यका साथ सरकारले हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको स्थापनाको तयारी गर्न लागेको बताउँदै खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिएका छन् ।
उनले पोखरालाई खेलको केन्द्र बनाउने योजना रहेको र आसन्न दक्षिण एशियाली खेलकुदका छवटा खेल पोखरामा गर्ने लगभग तय भइसकेको बताएका छन् ।
नेपाल लन टेनिस संघका केन्द्रीय अध्यक्ष ज्योति राणाले नेपालमा लन टेनिसको विकासका धेरै सम्भावना रहेको उल्लेख गरेका छन् ।
त्यसैगरी, कास्की जिल्ला टेनिस संघका अध्यक्ष विनोद कायस्थले प्रतियोगितामा फिनल्याण्ड, भारत र नेपालका गरी ९० जना प्रतियोगीले भाग लिने जानकारी दिएका छन् ।
प्रतिक्रिया