माओवादी केन्द्र र नेकपा संयुक्तबीच पार्टी एकता

काठमाडौं, असोज २५ ।
नेकपा (माओवादी केन्द्र) र नेकपा (संयुक्त)बीच आज पार्टी एकता भएको छ । आज एक कार्यक्रमबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्तका अध्यक्ष गणेश साहले पार्टी एकतासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालमा वामपन्थी र कम्युनिष्टहरूको धु्रबीकरणको शृंखला सुरु भएको र यसले समाजवादी क्रान्ति सम्पन्न गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले भने, नेपालमा दुई तिहाइ वामपन्थी जनमत छ । त्यसलाई एकीकृत गर्न सके नेपालबाट एक्काइसांँै शताब्दीको समाजवादी क्रान्तिको मोडल विकास गर्न सकिन्छ ।
उनले एकता प्रक्रियालाई महान् बहसको संज्ञा दिए र यसले समाजवादको आधार तयार पार्ने विश्वास व्यक्त गरे । आफूले पटक/पटक पार्टी भत्काउने र निर्माण गर्ने गरेको सन्दर्भ कोट्याउँदै उनले अहिले फेरि माओवादी केन्द्रलाई भत्काएर नेकपा (एमाले)सहितको बृहत् कम्युनिष्ट पार्टी निर्माण गर्ने अभियानमा आफू लागेको बताए ।
संयुक्तका सबै नेता, कार्यकर्तालाई उनीहरूको भूमिका र योग्यता अनुरूप माओवादीमा जिम्मेवारी दिइने उनले स्पष्ट पारे ।
कार्यक्रममा संयुक्तका अध्यक्ष साहले पार्टीको सोमबार र मंगलबार बसेको केन्द्रीय समितिको बैठकले सर्वसम्मतिले पार्टी एकताको निर्णय गरेको जानकारी दिए ।
कम्युनिष्ट पार्टीहरूबीच विभाजन होइन एकता आवश्यकता रहेको भन्दै उनले यसले सामन्तवादको अन्त्य गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
संयुक्तमा बिष्णु बहादुर मानन्धर, चन्द्रदेव जोशीजस्ता पुराना कम्युनिष्ट नेता रहेका छन् । सो पार्टीको संसदमा तीन जना सांसद रहेका छन् । वर्तमान सरकारमा संयुक्तबाट प्रतिनिधित्व गर्दै मिथिला चौधरीले जनसंख्या तथा वातावरण मन्त्रालय सम्हालिरहेका छन् ।
प्रतिक्रिया