संविधान कार्यान्वयन गर्न कांग्रेसको बहुमत आवश्यक : अर्थमन्त्री कार्की

सुनसरी, असोज २५ ।
अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधान कार्यान्वयन गर्न नेपाली कांग्रेसको बहुमत आवश्यक रहेको बताएका छन् ।
सुनसरीको देवानगञ्ज गाउँपालिकाले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री कार्कीले प्रदेश र संघको निर्वाचन सम्पन्न भएपछि मुलुक समृद्धिको बाटोमा अगाडि बढ्ने र संविधान कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।
मन्त्री कार्कीले संविधान संशोधन गर्न, विकास निर्माणलाई अगाडि बढाउन र समृद्ध नेपाल निर्माण गर्न नेपाली कांग्रेसको बहुमत आवश्यक रहेकाले अबको संघ र प्रदेशको निर्वाचनमा कांग्रेसलाई बहुमत दिएर पठाउन आग्रह पनि गरे ।
नेकपा (एमाले)ले नेकपा माओवादी केन्द्रसँग एकता गरेर मुलुकलाई कमजोर गर्न खोजेको आरोप उनले लगाए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरिआएका थुप्रै नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए ।
कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य बालिम चौधरी, एमालेका सन्तोष भगतलगायतका नेता काँग्रेसमा प्रवेश गरेको पार्टीका जिल्ला सचिव केदार भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया