निर्वाचनको सुरक्षा तयारीमा लाग्न प्रहरीलाई प्रधानमन्त्री देउवाको निर्देशन

प्रकाशित मिति: २७ आश्विन २०७४, शुक्रबार १४:०१


काठमाडौं, असोज २७ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर १० र २१ गतेका लागि तय भएको संघ र प्रदेश सभा निर्वाचनको सुरक्षा तयारीमा जुट्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

६२ औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा उनले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन सफल पार्न प्रहरीले निर्वाह गरेकोे भूमिकाको प्रशंसा गर्दै संघ र प्रदेशको चुनावमा पनि सोही प्रकारले भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभयो ।

सीमित श्रोत र साधनका बाबजुद पनि प्रहरीले देशमा शान्ति सुरक्षा कायम गर्न निर्वाह गरेको भूमिका सराहनीय रहेको भन्दै प्रधानमन्त्री देउवाले त्यसका लागि राष्ट्रको तर्फबाट उच्च प्रशंसा गर्छु भने ।

प्रहरी र नागरिकबीचको सामिप्यतामार्फत समाजलाई सुरक्षित राख्न थप सक्रिय भएर लाग्न पनि प्रहरीलाई उनले निर्देशन दिए । देशभित्र मात्रै होइन संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएर प्रहरीले अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति स्थापनामा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रधानमन्त्रीको भनाइ थियो ।

गृहमन्त्री जनार्दन शर्माले कर्तव्यपालनका क्रममा वीरगति प्राप्त गरेका प्रहरीको परिवार र घाइते प्रहरीका लागि थप कल्याणकारी कार्यक्रम ल्याउने तयारीमा सरकार रहेको र त्यसलाई संघीय प्रहरी ऐनमै समावेश गर्न लागिएको जानकारी दिए ।

प्रहरीको कामको मूल्यांकन गर्ने निकाय जनता नै हुन् भन्दै उनले रचनात्मक, व्यावसायिक र जनताप्रति समर्पित प्रहरी आजको आवश्यकता भएको उल्लेख गरे ।

प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राखेर व्यावसायिक प्रहरीका रूपमा विकास गर्न आफूले ८४ बुँदे गृह प्रशासन सुधार मार्गचित्र ल्याएको र सोअनुरूप काम भइरहेको गृहमन्त्री शर्माले जानकारी दिए ।

राष्ट्रको सेवा गर्ने प्रतिबद्धतासहितको एकता र प्रतिस्पर्धात्मक विकास प्रहरीमा हुनुपर्नेमा पनि उनले जोड दिए । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरीले कानूनी मान्यता पाएको दिनको सम्झनामा मनाइने प्रहरी दिवसले सबै प्रहरीलाई देश र जनताप्रति थप कर्तव्यनिष्ठ भएर सेवा प्रदान गर्न झकझक्याउने धारणा व्यक्त गरे ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले यसवर्ष कर्तव्य पालनका क्रममा ज्यान गुमाएका २५ प्रहरी कर्मचारीको सम्मानमा उनीहरूका परिवारका सदस्यलाई कदरपत्र प्रदान गर्नुभयो ।

प्रधानमन्त्री देउवा, गृहमन्त्री शर्मा, गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठलगायतले प्रहरी प्रधान कार्यालयमा रहेको ‘अमर प्रहरी स्मारक’मा पुष्पहार अर्पण गरेको थियो ।

त्यस अवसरमा पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह रानालाई ‘लाइफटाइम एचिभमेन्ट एवार्ड’बाट सम्मान गरिएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा जारी रहेकाे त्रिकोणात्मक टी-२० सिरिजको आफ्नो दोश्राे खेलमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....