नवलपरासीका दुबै जिल्लामा कांग्रेसको बहुमत

प्रकाशित मिति: २८ आश्विन २०७४, शनिबार ०८:०६


नवलपरासी, असोज २८ ।
हालै ७७ जिल्ला कायम भई दुई जिल्लामा विभाजन भएको नवलपरासीका दुई वटै जिल्लामा भएको जिल्ला समन्वय समिति (जिसस)को निर्वाचनमा नेपाली कांग्रेसले बहुमत प्राप्त गरेको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा प्रदेश नं. ४ (नवलपुर क्षेत्र)को जिससको निर्वाचनमा पूरै प्यानलमा कांग्रेस विजय भएको छ भने प्रदेश नं. ५ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला (परासी क्षेत्र)को जिससमा कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमको गठबन्धन विजयी भएको हो ।

निर्वाचनमा नवलपरासीको पूर्वी जिल्लाको जिसस प्रमुखमा कांग्रेसका चेसराम आले (बुलिङटार गाउँपालिका–१) र उपप्रमुखमा कांग्रेसकै शारदा विक (गैँडाकोट–५) विजयी भएका छन् । सदस्यहरूमा मुरारीबहादुर घिमिरे, बद्री सापकोटा, लक्ष्मीकान्त पाण्डे, मकरध्वज कुमाल विजयी भएका छन् ।

त्यसैगरी, महिला सदस्यमा ज्ञानुमाया शर्मा, खिमा सारु र तुलसीसरा सोमै मगर विजयी भएका छन् । उक्त जिल्लामा चार नगरपालिका र चार गाउँपालिका छन् ।

नवलपरासी पूर्वी जिल्लामा कांग्रेसको बहुमत रहे पनि पश्चिम जिल्लामा कांग्रेसलाई बहुमत पुर्‍याउन एक मत अपुग भएपछि लोकतान्त्रिक फोरमलाई उपप्रमुख र एक महिला सदस्य दिने सहमति गरी निर्वाचनमा गठबन्धन भएको थियो ।

पश्चिम जिल्लाको जिसस प्रमुखमा कांग्रेस शिवशंकर राय (रामग्राम नगरपालिका–१२) र उपप्रमुखमा फोरम लोकतान्त्रिकका अब्दुल रहमान चुरिहार विजय भएका छन् ।

त्यसैगरी, सदस्यहरूमा कृष्णबहादुर मगर, बजरंगी कोइरी र राजेश यादव छन् । दलित तथा अल्पसंख्यकमा लक्ष्मी विक र महिला सदस्यमा चन्द्रकला शर्मा, उषा बञ्जाडे र आशादेवी चौधरी विजयी भएका छन् । यस जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका रहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा जारी रहेकाे त्रिकोणात्मक टी-२० सिरिजको आफ्नो दोश्राे खेलमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....