ढुङ्गेल पक्राउ प्रकरण : चुनावको मुखैमा प्रहरीको सक्रियता, कानूनी कारबाही सही या गलत ?

प्रकाशित मिति: १५ कार्तिक २०७४, बुधबार १६:५०


प्रवेश निरौला, काठमाडौं
नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वसभासद्समेत रहेका कर्तव्य ज्यान मुद्दामा लामो समयदेखि फरार बालकृष्ण ढुङ्गेललाई मंगलबार ललितपुरको सातदोबाटोबाट सिभिल ड्रेसमा आएका प्रहरीले पक्राउ गरेलगत्तै काठमाडौं जिल्ला अदालतमा हाजिर गराए अदालतको अनुमतिमा डिल्लीबजारस्थित सदरखोरमा चलान गराएपछि नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई चुनावको मुखैमा आएर पहिलो गाँसमै ढुङ्गा परेसरह भएको छ ।

ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्या प्रकरणमा नेता ढुङ्गेललाई सर्वोच्च अदालतको संयुक्त इजलासबाट वि.सं. २०६६ साल पुस १९ गते सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएको थियो ।

तत्कालीन डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले २०६८ मंसिर २२ मा ढुङ्गेलमाथी लगाइएको मुद्दा द्वन्द्वकालीन भएको भन्दै आममाफीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । तर, सर्वोच्चले हत्याका दोषीलाई आममाफी दिन नहुने भन्दै फैसला कार्यान्वयन गर्न आदेश दिएको थियो ।

माओवादीकै दबाबका कारण प्रहरी नेतृत्वले ढुङ्गेललाई पक्राउ गर्न सकेको थिएन । सर्वोच्च अदालतले हत्याका दोषी ठहर भएका ओखलढुङ्गा पोकली–२ का पूर्वसभासद ढुङ्गेललाई पक्राउ गर्न यसअघि पटक–पटक प्रहरी महानिरीक्षकलाई आदेश दिएको थियो । पछिल्ला दिनमा ढुङ्गेल पक्राउ नगरेको भन्दै नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालविरुद्ध सर्वोच्चमा मुद्दासमेत दायर भएको थियो । त्यसको केही समयलगत्तै प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले ढुङ्गेल पक्राउलाई लिएर भने, ‘ढुङ्गेल योभन्दा अघि ज्यान मुद्दामा फरार रहेका व्यक्ति हुन्, अहिले भेटियो र पक्राउ गर्यौं ।’

ढुङ्गेल पक्राउमा जनताको शंका
माओवादी केन्द्रका नेता बालकृष्ण ढुङ्गेल योभन्दा अगाडि पनि खुलेआम हिँड्ने गरेका छन् तर, त्यो बेला प्रहरीले आँखामा कालो पट्टि किन बाँधेर बसे ? अपराधी जोसुकै होस् उसलाई कानूनी कठघरामा ल्याउनै पर्छ । तर, त्यतिका समय खुलेआम हिँडिरहेका बेला पक्राउ गर्न नसक्नु वा नगर्नु र चुनाव नजिकिँदै गर्दा एकाएक पक्राउ गर्नुमा जनताले शंका भने उब्जाएका छन् ।

चुनाव र प्रहरीको कानूनी कारबाही
देशमा नजिकिँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावले माहौल तताईरहेकै बेला प्रहरीले एकाएक वर्षौंदेखि फरार रहेका माओवादी नेता ढुङ्गेललाई पक्राउ गर्नुमा सत्तारुढ दल र प्रहरीबीच भित्रभित्र तालमेल छन् की भन्नेमा पनि शंका उपशंका हुन थालेका छन् । ढुङ्गेललाई यो समयमा पनि पक्राउ गर्न नसके चुनावपछि असम्भव जस्तो देखिएपछि पक्राउ गरिएको हो की ? भन्ने शंका पनि चारैतिरबाट गर्न थालेका छन् । चुनावको परिणाम के–कस्तो आउला अहिले नै भन्न मुश्किल छ । त्यसमाथी नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेबीच वाम गठबन्धनले प्रहरीलाई गम्भीर रूपमा सोच्न भने बाध्य बनाएको अनुमान गर्न सकिन्छ ।

पूर्वसभासद् ढुङ्गेल पक्राउले चुनावमा असर पर्ला ?
फरार रहेका ढुङ्गेललाई पक्राउ गरी सदरखोरमा चलान गरेपछि जनता र नेताहरूमासमेत चुनाव बिथोल्ने पो हो की भन्ने आशंका पनि उब्जिएको छ । ढुङ्गेल पक्राउ परेपछि नेकपा (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टीले नेता ढुङ्गेललाई तत्काल रिहाईको माग गर्दै छुट्टाछुट्टै विज्ञप्तिसमेत जारी गरिसकेको छ भने विप्लव नेतृत्वले बिहीबार राजधानीमा ढुङ्गेलको रिहाईको माग गर्दै आमसभासमेत गर्ने भएका छन् । यस्तो अवस्थामा ढुङ्गेलको विषयलाई लिएर चुनावमा असर पर्छ या पर्दैन यो तत्कालै भन्न सकिने अवस्था भने छैन । तर, राजनीतिक दलहरूले चुनावलाई नसार्ने र तोकिएकै मितिमा गर्ने प्रतिबद्धता जनाइसकेको अवस्थामा विभिन्न राजनीतिक दल र नेता कार्यकर्ताहरूबीच भित्रभित्रै के–कस्तो जालो बुन्ने हो यो समयले बताउने छ ।

कारबाही सबैलाई सम्मान होला ?
जसरी ढुङ्गेललाई पक्राउ गर्न प्रहरीले सक्रियता देखाएका छन्, त्यसरी नै यस्तै घटनामा संलग्न रहेका अरू व्यक्तिहरूलाई पनि प्रहरीले यसरी नै आफ्नै अडानमा रहेर आफ्नो कानूनी प्रक्रियालाई निष्पक्ष रूपमा अगाडि बढाउला ? यो कुरालाई पनि अब नेपाल प्रहरीले बढी ध्यान केन्द्रित गर्नुपर्ने भएको छ । ताकि, कतैबाट औँला तेस्र्याउने वातावरण नबनोस् । कानून र राजनीति छुट्टाछुट्टै हुन् र हुनुपर्नेमा कसैको दुई मत भने छैन । कानूनी कारबाही आफ्नो प्रक्रियाले गर्ने हो कुनै राजनीतिक दवाब वा संरक्षणमा रहेर होइन भन्ने कुरालाई ढुङ्गेल पक्राउले जसरी स्पष्ट पारेको छ । यसलाई पछिल्लो समयसम्म पनि निरन्तरता दिन सकेमा देशमा कानून छ भन्ने कुराको भान आम जनताले गर्न पाउने छन् । यो हेक्का हुनु अत्यावश्यक छ ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....