ताथाबाथा जन्तुका बीच आधिकारिक नेपालीको परिचय

स्मृती नेपाली, काठमाडौं ।
लाटो देशमा गाँडो तन्नेरी भने झैँ भइरहेको यतिबेला नेपाली राजनीति । निर्लज्जा मानिसको रमिता हेर्ने मुकदर्शक बनेका छन् नेपालीहरू । साढे जात्रा मनाउने देशमा अहिले साढे जात्रा हेर्न योग्य रमिता देखिन्छ ।
समयको मागअनुसार नै अहिले नेपाली राजनीतिमा साँढेहरू हाबी भएकोले आजकल मानव रूपी दानवहरू शहरका चोक–चोकमा हात जोर्दै धाइरहेका छन् । गाउँका गोठ–गोठबाट उठेर सभ्यताको मुखौता पहिरेर साँढेहरू आ–आफ्नै दल खोलेर बलिया भएका छन् ।
नेपाली जनताले भोग्दै आएको कुरो हो, चाहे कोहीँको हत्या गर्नुस्, कसैको टाउको फोर्नुस्, अर्काको सम्पत्तिमा आँखा गाड्नुस् या राजदरबार लडाउनुस्, दल तपाईंको साथमा छ भने त तपाईं भाग्यमानी हुनुहुन्छ । जिन्दगी आरामले कट्छ, बाँचुञ्जेल कसैले आँखा तर्न पनि सक्दैन ।
आजकल त एउटै ज्यान महिनैपिच्छे दल फेर्दै हिँड्छन् । फाइदाको सरोकारवालाको मुख्य नारा भनेकै दलसँग छल भएको छ । त्यसो त बल र छल एक अर्काका परिपूरक भएका छन् । नेपाली शब्दकोषले यसलाई मान्यता नदिए पनि साँढेहरूले बढावा नै दिएका छन् । अरू के चाहियो अब ? जसको शक्ति उसैको भक्ति भने झैँ शक्ति हुनेको अगाडि आफ्नो आत्मसम्मान गिराउनु परे पनि पछि पर्दैन नेपालीहरू । दलीय एजेण्डा नै त्यहीँ हो, कोही बेकार लाग्यो कि तासको जोकर फाल्टु झैँ गर्ने ।
दलसँगै लागेर समाजमा कुरीति निम्त्याउने नेपालीहरू साँच्चिकै भेँडा नै हुन् कि जस्तो भान आम नागरिकले गरेका छन् । दलको कुकर्म आँखा अगाडि आए पनि अहिले विभिन्न एजेण्डासँगै केही बोली र खल्तीमा केही नोटले बिक्ने नेपालीहरूको औकात कुनै भेँडा भन्दा कम छैन भन्ने कुराको हेक्का आम नेपाली नागरिकले गरिसकेका छन् र, भनिराख्नु पर्ने कुरा पनि होइन । नलागोस् पनि कसरी प्राधिकरण र आयोजनाबाट प्राडो उपहार पाउन, दिनदिनै खसी लडाउन अनि सम्पत्ति लाखबाट करोड, करोडबाट अरब बढाउन, घरको तला दुईबाट चार, चारबाट आठ बढाउन सहयोग त दलकै पर्छ नि ।
दलको पछि लाग्नुको फाइदा पनि अनेक छन् । नारी अस्मिता लुट्नेदेखि देश बेचेर खाए पनि महाराजधिराजले पनि छुन सक्दैन । दलको छाँयामा तपाईंले जे गरे पनि जायज हुन्छ । ढुक्क हुनुहोस् ।
नेपालीको मुख्य पहिचान नै यतिखेर निर्लज्जापन बनेको छ । कोहीको दुःखमा रमाउने, आफ्नो फाइदाको लागि भाईमारा गर्नुपरे तापनि पछि नहत्ने समाज बन्दैछ यतिबेला नेपाली समाज । तपाईं पनि लाजको धुमरीले बाँधिनु भएको छ भने बेलैमा सचेत हुनुस्, लाज सरमलाई सातडाँडा पारी भगाउनुस्, शक्तिको अगाडि झुक्न तयार रहनुस् । अनि मात्र बन्छ एक आधिकारिक नेपाली ।
अहिले नयाँ नेपालका नयाँ, पुराना, ठूला, साना सबै नेताहरू धोकाई तालमा आफ्ना एजेण्डा र गुणगानमै व्यस्त छन् । मैले यसो गरेँ, उसो गरेँ, अब यो गर्छु त्यो गर्छु भनेर थाकेका छैनन् । हामीले त दुःख, कष्ट, अभाव, अशान्ति आदि बाहेक केही राम्रा कुरा पाएको अनुभूति गरेका छैनौँ । तर, पनि अब राजनीतिक सुर चढेका नेपालीलाई अभाव दुःखको कुरा त कहाँ पच्लान् त ?
फेरी हामीजस्ता सर्वसाधारण भेँडाको त्यत्रा ठूला बाँजीहरूका कुरा अविश्वास गर्ने क्रुरता गर्नु त अपराध नै हुने भो नि ।
अब बन्ने नयाँ नेपालमा साँच्चिकै नमूना नै बन्छ । हाम्रा महान् त्यागी नेताहरू, लाज सरम, इमान जमान, नैतिकताजस्ता बेकारका फाल्तु चीजलाई त्यागी देशलाई कृपा गर्ने नेताहरूका पछि लाग्ने हाम्रा प्यारा नेपालीहरूको साझा फूलबारी बन्ने त पक्का नै भइसक्यो नि होइन ? लौ है स्वागत छ, तपाईंलाई हाम्रो नयाँ नेपालमा ।
प्रतिक्रिया