प्रम दाहाल र चीनियाँ राष्ट्रपति सीबीच शिष्टाचार भेट, निर्वाचनका लागि नौ मिलियन

प्रकाशित मिति: १४ चैत्र २०७३, सोमबार १७:११


काठमाडौं, चैत्र १४ ।
छ दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनियाँ राष्ट्रपति सी जिनपिङबीच द्विपक्षीय सहयोग आदानप्रदान तथा आपसी सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

चीनको राजधानी बेइजिङस्थित ग्रेट अफ दी पिपुलमा आज भएको भेटवार्ता महत्वपूर्ण तथा उपलब्धिमूलक रहेको प्रम दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् ।

उनकाअनुसार उक्त भेटमा चीनका राष्ट्रपति जिनपिङले आगामी बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि नौ मिलियन युयान सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

सोही अवसरमा प्रधानमन्त्री दाहालले वि.सं. २०७२ को गोरखा भूकम्पपछि बन्द भएको तातोपानी नाका सञ्चालन गर्न र नेपालसँग रेल्वे विकास गर्ने विषयमा चीनको सहयोग आवश्यक भएको बताए ।

यस उच्चस्तरीय छलफलले नेपाल–चीन सम्बन्धको विकासमा महत्वपूर्ण आयाम थपेको बताउँदै उनले नेपाल र नेपाली जनता ‘एक चीन नीति’ प्रति प्रतिबद्ध रहेको बताए ।

नेपाल र चीनबीचको सम्बन्ध सदियौँदेखिको भौगोलिक तथा सांस्कृतिक रूपमा दरिलो रहेको उल्लेख गर्दै प्रम दाहालले चीनले नेपाललाई स्वच्छ हृदयले गरेको सहयोगप्रति आभार व्यक्त गरे ।

नेपालमा लामो राजनीतिक सङ्क्रमणपछि स्थायित्व र समृद्धिको बाटोमा अगाडि बढेको उल्लेख गर्दै उनले चीनियाँ रेल ल्हासाबाट काठमाडौं हुँदै लुम्बिनी पुगेको आफू र नेपाली जनताले हेर्न चाहेको बताए ।

सोही अवसरमा प्रधानमन्त्री दाहालले चीनका राष्ट्रपति जिनपिङलाई नेपाल भ्रमणको निम्तो दिएका थिए भने जवाफमा चीनका राष्ट्रपति जिनपिङले चाँडै नेपाल भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सोही अवसरमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्र सचिव शङ्करदास बैरागी, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, नेपालका लागि चीनियाँ राजदूत यु होङलगायतका उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागिता थियो ।


प्रतिक्रिया

ताजा खबर

More

सुनचाँदी कारोबारको पहिलो दिन सुन तोलामा ३ हजारले घट्यो

काठमाडाैं, जेठ २५ । सुनचाँदी कारोबारको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य.....