आरआरमा चुनाव जारी रहँदा पेट्रोल बम प्रहारमा डिएसपीसहित छ घाइते, स्थिति तनावग्रस्त

काठमाडौं, चैत्र १५ ।
काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पस आरआरमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको चुनाव जारी रहँदा अहिले चुनावको विपक्षमा रहेकाले पेट्रोल बम प्रहार गर्दा प्रहरीहरू घाइते भएका छन् । अहिले त्यहाँको अवस्था तनावग्रस्त रहेको छ ।
प्रहरी नायव उपरिक्षक सन्तोष तामाङसहित ५ जना प्रहरी सामान्य घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएका छन् । प्रनाउ तामाङको हातमा चोट लागेको छ भने एक हवल्दार र चार जवान सामान्य घाइते भएका छन् । घाइतेहरूको उपचार भइरहेको जनाएको छ ।
सो क्षेत्र तनावग्रस्त भएपछि नेपाल प्रहरीले अहिले सो स्थान भएर जाने पैदल यात्रुहरूलाई जान रोक लगाएको छ भने सुरक्षा व्यवस्था पनि बिहानभन्दा थप कडा पारिएको छ ।
तनावका बीचमा पनि अहिले स्ववियुको मतदान जारी नै रहेको छ । बिहान ८ बजेपछि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने क्याम्पस प्रशासनले जनाएको छ ।
चुनावको विरोधमा रहेका अखिल क्रान्तिकारी, नेविसंघलगायत विभिन्न १० वटा विद्यार्थी संगठनले भने चुनाव बहिष्कार गरेका छन् । यसअघि, विद्यार्थी संगठनको विरोधका कारण आरआरमा चुनाव स्थगित हुन पुगेको हो ।
प्रतिक्रिया