बेइजिङमा परराष्ट्रमन्त्री डा. महतले गरे नेपालको घोर बेइज्जती

काठमाडौं, चैत्र १६ ।
भारत गइरहने र चीनसँग सम्बन्ध बिगारेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई अप्ठ्यारो पार्ने परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बेइजिङ पुगेर देशको हुर्मत लिएका छन् । सकेसम्म चीनसँग सम्झौता नगर्ने र गर्न नदिने उद्देश्य बोकेका डा. महत पहिले प्रधानमन्त्रीसँग चीन जान तयार थिएनन् । तर, जब परराष्ट्रमन्त्री वाङ यी त्यो बेला अष्ट्रेलियामा रहने सुँइको पाए तब चीन जान कस्सिए ।
जे–जस्तो उद्देश्य लिएर उनी चीन पुगेका थिए उसैगरी उनको कामलाई सञ्चार माध्यमले पर्दाफास गरिदिएका छन् । हाइनानमा आयोजित बोआओ फोरमका कतिपय क्षेत्रमा उनले प्रधानमन्त्री दाहाललाई ओभरटेक गर्दै बोलेका थिए । बेइजिङ पुगेकै दिन नेपाली दूताबासमा आयोजित कार्यक्रममा त झनै गाईजात्रासमेत देखाए । डा. महत प्रधानमन्त्री र राजदूत लीलामणि पौडेलसँगै मञ्चमा राष्ट्रगान बज्दा उभिएका थिए । राजदूतले दाहिने हात देब्रे छातीमा राखेर राष्ट्रगान गुन्गुनाए भने दाहाल सतर्क पोजिसनमा उभिए । तर, परराष्ट्रमन्त्री महत भने केही चपाउँदै थिए । सम्भवतः उनी मञ्चमा जानुअगाडि बदाम अथवा पकौडा खाँदै थिए र हतार–हतार जाँदा एकाध मिनेट पनि मुखको खानेकुरा नचपाई बसिरहन सकेनन् । राष्ट्रगान बज्दा कुन अवस्थामा रहनुपर्छ भन्ने कुरा पनि हेक्का राखेनन् ।
त्यति मात्र होइन, प्रधानमन्त्रीले छुट्टै कोठामा विभिन्न तहका चीनियाँ प्रतिनिधिसँग छलफल गर्दा मोबाइल खेलाएर बसेका थिए । सबैभन्दा बढी उनी आइतबार बेइजिङ फरेन स्टडी विश्वविद्यालयको कार्यक्रममा चिप्लिए ।
प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा सहभागी एक जना शुभेच्छुकले मंगलबार ल्हासाबाट बताएअनुसार दाहालभन्दा अगाडि बोलेका डा. महतले चुनाव प्रचार जस्तो अन्टसन्ट बोलेर गाईजात्रा देखाए । परराष्ट्रमन्त्रीको हैसियतमा के बोल्ने र के नबोल्ने भन्ने पनि ख्याल गरेनन् । चीनले अगाडि सारेको वन बेल्ट वन रोड कार्यक्रममा नेपाल सहभागी हुन्छ भन्ने आवश्यकता पनि देखेनन् । बरु नेपालको विकासमा चीन जत्तिकै भारतको पनि महत्व रहेको बताए । महतको यस्तो बोली अञ्जानमै चिप्लिएको थियो अथवा जानाजानी भारतलाई खुसी बनाउन बोलेका थिए त्यो त उनैले जान्ने कुरा हो ।
आजको जनआस्था साप्ताहिकमा समाचार छापिएको छ ।
प्रतिक्रिया