अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ओबामाको जलवायु परिर्वतन नीति खारेज

एजेन्सी, चैत्र १६ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामाद्वारा जलवायु परिवर्तन नीति खारेज गर्ने आदेशमा हस्ताक्षर गरेका छन् ।
ट्रम्पको यो आदेशअनुसार ओबामा सरकारले जारी गरेको जलवायु परिवर्तनसम्बन्धी अरू छ वटा नीति पनि खारेज हुने भएको छ । ट्रम्पको यो कदमलाई व्यावसायिक समूहले स्वागत गरेका छन् भने वातावरण संरक्षणसम्बन्धी काम गर्ने समूहले विरोध जनाएका छन् ।
आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले कोइलाको विषयमा हुँदै आएको द्वन्द्व आफूले अन्त्य गरेको दाबी गरे । अमेरिकी ऊर्जामा लागिरहेको सरकारी रोकटोक तथा रोजगारी कटौती गर्ने नीतिहरू अन्त्यका लागि आफूले ऐतिहासिक कदम उठाउँदै आएको ट्रम्पको दाबी रहेको छ । चुनावी अभियानको क्रममा ट्रम्पले सन् २०१५ मा पेरिसमा भएको जलवायु सम्झौताबाट अमेरिकालाई बाहिर ल्याउने बताएका थिए ।
ट्रम्पको आदेशले ओबामाको स्वच्छ ऊर्जा योजनालाई रद्द गरेको छ । जलवायु परिवर्तनको सम्बन्धमा ओबामा र ट्रम्पको विचार अलग रहेको छ । ओबामाले विश्वमा जलवायु परिवर्तन भइरहेको र यसबाट कोही पनि पर जान नसक्ने बताउँदै आएका छन् । तर, ट्रम्प भने त्यसको विपक्षमा रहँदै आएका छन् ।
प्रतिक्रिया