‘विश्वमा भइरहेको द्रूत विकासको परिवर्तनले नेपाललाई प्रत्यक्ष प्रभाव’ : प्रम दाहाल

प्रकाशित मिति: २० चैत्र २०७३, आईतवार १३:३०


काठमाडौं, चैत्र २० ।
प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वमा भइरहेको द्रूत विकासको परिवर्तनले नेपाललाई प्रत्यक्ष प्रभाव परेको बताएका छन् ।

राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको आज १६ औँ वार्षिकोत्सवको उपलक्ष्यमा राजधानीमा आयोजित एक विशेष कार्यक्रमको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले १६ औँ वार्षिकोत्सवको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै सचिवालयमा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामनासमेत गरेका छन् ।

नेपाल सरकारको निजामती तथा सबै सुरक्षा निकायका विज्ञ र सक्षम अधिकृतहरू नियुक्त भई आएका सचिवालयमा राष्ट्रिय सुरक्षासँग सम्बन्धित आन्तरिक तथा बाह्य खतरा र चुनौतीहरूसम्बन्धी भरपर्दो सूचनाहरू संकलन गर्ने, विश्लेषण गर्ने, सूचना प्रवाह गर्ने र राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार समूहको रूपमा कार्यरत रहने निकाय भएको उनले बताए ।

‘विश्वको वर्तमान परिवेशमा सुरक्षा भन्नाले विविध क्षेत्रभित्रका बहुआयामिक विषयवस्तुहरू समेटिएको राष्ट्रिय सुरक्षाको वृहत रणनीति हो । सुरक्षा बृहत र बहु–आयामिक विषय भएकाले मुलुकको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, भौतिक, सामाजिक, आर्थिक, सांस्कृतिक र मानवीय पक्षलाई समेत समेट्दछ । राष्ट्रिय सुरक्षाअन्तर्गत सार्वजनिक र निजी मूल्य मान्यताहरू, राष्ट्रिय सम्मान र गौरबका विषयवस्तुलगायत आमजनताको जिउधनको सुरक्षा एवं सामाजिक–सांस्कृतिक मूल्य मान्यताको संरक्षण समेत पर्दछन् । यसका साथसाथै वातावरण, सुशासन, विकास र मानव अधिकारको पक्षलाई पनि राष्ट्रिय सुरक्षाले समेट्दछ ।’ प्रधानमन्त्री दाहालले भने ।

विश्वमा क्रमिक रूपमा भइरहेको हरेक विकासको परिवर्तनले नेपाललाई पनि प्रत्यक्ष प्रभाव पारिहेको अवस्थामा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले मुख्य भूमिका निर्वाह गरी विश्लेषणात्मक क्षमतालाई अभिवृद्धि गर्दै दिएका संवैधानिक जिम्मेवारीलाई उच्चतम् पेशागत प्रणालीका रूपमा सदैव निभाउँदै आएको उनले बताए ।


प्रतिक्रिया

ताजा खबर

More

सुनचाँदी कारोबारको पहिलो दिन सुन तोलामा ३ हजारले घट्यो

काठमाडाैं, जेठ २५ । सुनचाँदी कारोबारको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य.....