दावालाई गोली हानेपछि एसएसपीलाई फोन गरेर यस्तो दाबी गरे

प्रकाशित मिति: ३० चैत्र २०७३, बुधबार ०९:०५


काठमाडौं, चैत्र ३० ।
राजधानीका गुण्डाहरूबीच भिडन्त हुन थालेको छ । काभ्रेली समूहका गुण्डा नाइके दावा लामामाथी मंगलबार बिहान गोली प्रहार भएको छ । गोली हानेलगत्तै लोप्साङ राई नामक व्यक्तिले काठमाडौं प्रहरी प्रमुख एसएसपी छबिलाल जोशीलाई फोन गरी आफूहरूले गोली हानेको दाबी गरेका छन् । गौरीघाटस्थित पार्टी प्यालेसमा छिर्दै गर्दा उनीमाथी गोली प्रहार भएको हो । गुण्डाहरूबीचै दुश्मनीका कारण उनीमाथी आक्रमण भएको प्रहरीले अनुमान गरेको छ ।

उनलाई गोली हानेपछि ‘नो नम्बर’बाट फोन गरी राईले आफूहरूले गोली हानेको दाबी गरेका हुन् । ‘त्यसले हामीलाई धेरै दुःख दिएको थियो, त्यही कारणले गोली हानेका हौँ’ भन्दै राईले फोन गरेका थिए । ‘घटनाको दाबी गर्दै एक व्यक्तिले फोन गरेका थिए,’ एसएसपी जोशी भन्छन्, ‘ती व्यक्ति को हुन्, अझै प्रष्ट भइसकेको छैन ।’ राई बुटवलमा दुर्गा तिवारीको हत्यामा संलग्न मनोज पुनको समूहको सदस्य भएको श्रोत बताउँछ । सोही समूहमा लागेका गुण्डा नाइके समीरमानसिंह बस्नेतको गिरोहमा उनी आबद्ध छन् । गोली हानेको दाबी गर्ने राई प्रहरीको वाण्टेड लिस्टमा रहेको श्रोतले बतायो ।

दिव्य पार्टी प्यालेसमा जडान गरिएको सीसीटिभीमा कैद दृश्यअनुसार दावा करिब साढे ९ बजे झोला बोकेर पार्टी प्यालेसको गेटभित्र छिर्छन् । झोला बोकेका एक युवकले उनलाई पछ्याइरहेका हुन्छन् । लामा गेटबाट छिरेलगत्तै कम्मरमा भिरेको झोलाबाट उनले पेस्तोल निकालेर खुट्टामा गोली हान्छन् । लामा लड्छन् । लामा उठेर भाग्न खोज्दा थप तीन राउण्ड गोली हानी उनी दौडँदै नयाँ बस्तीतर्फ भागेको देखिन्छ । लामालाई खुट्टा र ढाडमा एक–एक वटा गोली लागेको प्रहरीले जनाएको छ । उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । प्रहरीले मंगलबार बेलुकासम्म कसैलाई पनि पक्राउ गर्न सकेको छैन । गोली हानेपछि पैदलै भागेका युवक कता गए ? खुलेको छैन ।

प्रारम्भिक अनुसन्धानमा बुटवलमा दुर्गा तिवारीलाई गोली हानी हत्या गर्ने मनोज पुनको समूहले लामामाथी आक्रमण गरेको प्रहरी अनुमान छ । पुनको गिरोहका काठमाडौंमा गुण्डागर्दी गर्ने समीरमानसिंह बस्नेतलगायत छन् । बस्नेत र लामाबीच पहिलेदेखि नै दुश्मनी रहेको प्रहरी अधिकारी बताउँछन् । तिवारीको हत्यालगत्तै सो समूहले काठमाडौंमा एक व्यक्तिको हत्याको तयारी गरेको अनुसन्धानमा खुलेको थियो । काठमाडौंमा हत्याको योजनामा रहेका एक युवकलाई सो घटनामा प्रहरीले पक्राउ गरेको थियो । पुनको समूहले पछिल्लो समय काठमाडौंका व्यावसायीलाई समेत धम्क्याउँदै पैसा असुल्दै आएको छ ।

गत फागुनको तेश्रो साता दरबारमार्गस्थित एक डिस्कोका सञ्चालक राम गिरीलाई कुटपिट गरेको आरोपमा लामा पक्राउ परेका थिए । ज्यान मार्ने उद्योग मुद्दा चले पनि उनी धरौटीमा छुटे । पछिल्लो समय कांग्रेसका नेताहरूसँग काभ्रेमा चुनाव प्रचार–प्रसारमा उनी सक्रिय थिए । काभ्रे सल्ले घर भएका उनी पहिलेदेखि नै फाइटरका रूपमा चिनिन्छन् । कुनै समय ठमेलमा उनी गोगो बार चलाउँथे । झैँ झगडामा उनी सधैँ अघि बढ्थे । उनले तीन वर्षअघि पूर्वसेनापति छत्रमानसिंह गुरुङका छोरालाई एक रेस्टुरेन्टमा कुटपिट गरेका थिए । त्यहीबेला व्यावसायीलाई समेत पैसा नदिएको भन्दै खुकुरी हानेका थिए । तीन वटै घटनाको अनुसन्धानमा तीन वर्षअघि पक्राउ पर्दा उनको साथबाट लागू औषध बरामद भएको थियो । सुरुमा जेल चलान भएकोमा उनले अदालतबाट सफाई पाएका थिए । उनलाई छुटाउन कांग्रेसका नेताहरू नै लागेका थिए ।

पछिल्लो समय राजधानीमा गुण्डाहरू सल्बलाउन थालेका छन् । गत बिहीबार मात्र प्रहरीले काभ्रेली समूहकै वाला लामालाई पक्राउ गरेको थियो । त्यस्तै, अघिल्लो साता चक्रे समूहका सुरज गुरुङलाई पनि प्रहरीले धम्क्याएको आरोपमा पक्राउ गरेको थियो । राजधानीका अन्य गुण्डाविरुद्धसमेत उजुरी पर्न थालेको छ । विभिन्न पार्टीले गुण्डालाई संरक्षण दिएर चुनावी गतिविधिमा प्रयोग गर्न लागेको प्रहरी अधिकारी बताउँछन् । आफ्ना दुश्मनलाई गोली हानेर सिधैँ एसएसपीलाई फोन गरेर जिम्मेवारी लिनुले पनि उनीहरूको हिम्मत बढेको देखाउँछ । गुण्डागर्दीमा संलग्न सबैको सूची बनाएर निगरानी भइरहेको एसएसपी जोशी बताउँछन् ।
आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

सुनचाँदी कारोबारको पहिलो दिन सुन तोलामा ३ हजारले घट्यो

काठमाडाैं, जेठ २५ । सुनचाँदी कारोबारको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य.....