प्रम दाहाल कुरामा अग्रगामी भए पनि काममा पुरानो यथास्थितिवादी सत्ताको लाचार छायाँ : नेता श्रेष्ठ

काठमाडौं, चैत्र ३० ।
नेवाः प्रदेश स्तरीय पार्टीको सङ्गठनात्मक कार्ययोजनाका सन्दर्भमा आज राजधानीमा आयोजित एक कार्यशाला गोष्ठीमा सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले पार्टी विचार, सङ्गठन र सङ्घर्षको केन्द्र हुनुपर्ने बताएका छन् ।
उनले नेपालका समाजवादी र साम्यवादी भन्ने कांग्रेस कम्युनिष्टहरूले युरोपका एकल राष्ट्रिय राज्यहरूको समाजवादी मोडेलको नक्कल गरेकाले असफल भएको बताउँदै हाम्रो जस्तो बहुराष्ट्रिय देशमा सङ्घीयतासहितको समाजवाद हुनुपर्ने बताए ।
उनले भने, ‘एकात्मक राष्ट्र–राज्यको समाजवादको नक्कल गर्नु जुत्ताको आधारमा आफ्नो खुट्टा काट्नु’ जस्तै हो । उनले निकट भविष्यमा यहाँका शासकहरूको साटो खाने गरी सङ्घवाद र समाजवादलाई सिद्धान्तको रूपमा स्वीकार्ने विभिन्न दलहरू एकीकृत भई सशक्त बैकल्पिक राजनीतिक शक्ति निर्माण हुने भन्दै यसले नेपालको उत्पीडित समुदाय र श्रमजीवी वर्गलाई उत्साहित गर्ने बताए ।
उनले सरकारले दर्ता गरेको वर्तमान संविधान संशोधन प्रस्ताव अधुरो र त्रुटिपूर्ण रहेको छ भन्दै त्यसलाई परिमार्जन गरेर पारित गर्नुपर्ने बताए ।उनले राज्यले सिंहदरबारमा नेपालीको नाममा पर्वते–गोर्खा भाषालाई मात्र स्थान दिएको, प्रदेशको भाषा प्रयोगको अधिकारलाई समेत केन्द्रमा बन्ने भाषा आयोगको सिफारिस चाहिने गरी झन् प्रतिगामी संशोधन दर्ता गरेको, सङ्घीय आयोगलाई सङ्घीय संरचना पुनरावलोकन गर्न सक्ने गरी समानुपातिक समावेशी र अधिकार सम्पन्न नबनाएको, तथा धारा २७४ को संशोधनले पनि नयाँ प्रदेश श्रृजना गर्ने अधिकारलाई प्रायः असम्भव बनाएको बताए ।
उनले प्रधानमन्त्री दाहाल कुरामा अग्रगामी देखिए पनि काममा पुरानो यथास्थितिवादी सत्ताको लाचार छायाँ जस्तो भएको बताउँदै संविधान संशोधनका सन्दर्भमा एमालेसँग साँठगाँठ गरी सीमाङ्कनको प्रस्ताव फिर्ता लिएको बताए ।
उनले सङ्घीयतामा स्वायत्त क्षेत्र, संरक्षित क्षेत्रहरू गहना मात्र होइनन्, राज्यका विशेष तह हुन् भन्दै संविधानमा अरू सङ्घीय मुलुकमा जस्तो स्वायत्त क्षेत्र, संरक्षित क्षेत्रहरूलाई राज्यको विशेष तहको मान्यता नदिएको, तिनीहरूको अधिकारको अनुसूची संविधानमा नराखेको तथा स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र नराखी प्रदेश सरह सङ्घीय रूपमा राखेकोमा आपत्ति जनाए । उनले भने, ‘यो सङ्घीयताको नाममा एकात्मकताकै पुनरावृत्ति हो ।’
कार्यशाला गोष्ठीका संयोजक तथा नेवाः प्रदेश इञ्चार्ज कृष्णबहादुर घःजुको अध्यक्षतामा भएको उक्त सङ्गठनात्मक कार्यशालामा पार्टी महासचिव रामसहाय प्रसाद यादवले पार्टीको विचार मात्र ठीक भएर हुँदैन त्यसलाई सङ्गठनात्मक शक्तिमा रूपान्तरण गर्नुपर्छ भने । उक्त कार्यक्रममा केन्द्रीय सदस्य लालबहादुर तामाङले स्वागत तथा सानुराजा शाक्यले धन्यबाद ज्ञापन गरेका थिए भने नेवाः प्रदेशका अध्यक्ष न्हुच्छेलाल महर्जनले सङ्गठन सुदृढीकरणको कार्ययोजना प्रस्तुत गरेका थिए ।
पार्टी केन्दीय सदस्य शाक्य सुरेनले सञ्चालन गरेको उक्त कार्यशालामा उपस्थित सम्पूर्ण नेता कार्यहर्ताहरूले पार्टी विस्तार तथा सुदृढीकरणका लागि गर्नुपर्ने कामहरूका सन्दर्भमा सुझाब दिएका थिए । कार्यक्रमको अन्त्यमा सङ्गठन सुदृढीकरणका लागि काठमाडौंमा पार्टीका राजनीतिक समिति सदस्य डा. महेशमान श्रेष्ठ, ललितपुरका लागि केन्द्रीय सदस्य डा. पुष्पराज राजकर्णिकार, भक्तपुरका लागि केन्द्रीय सल्लाहकार त्रिरत्न शाक्य र गैर–भौगोलिक राजधानी विशेष जिल्लाका लागि मञ्जु अन्सारीलाई उत्प्रेरकको जिम्मा दिएको छ ।
प्रतिक्रिया