बैशाख पूर्णिमाको विशेष दिन आज सिन्दूरे जात्रा मनाइँदै

नुवाकोट, चैत्र ३१ ।
नुवाकोटको ऐतिहासिक बैशाख पूर्णिमा जात्राको विशेष दिन आज सिन्दूरे जात्रा मनाइँदै छ । जात्राको मुख्य तथा विशेष दिन आज अपराह्न नुवाकोटमा सबैभन्दा ठूलो तथा ऐतिहासिक सिन्दूरे जात्राको सबै तयारी पूरा भएको छ ।
दुई दिनसम्म देवीघाटस्थित जालपादेवी मन्दिरमा विराजमान गराएपछि भगवान्स्वरुप रहेका धामीधमिनी अहिले नुवाकोटको धरमपानी पुग्नुभएको छ । गएको मध्यरात देवीघाटबाट नुवाकोटको लागि प्रस्थान गर्नुभएका धामीधमिनीसहित देवीघाटको जालपादेवी मन्दिरमा लगिएको भैरवी देवीको मुकुटलगायतको भगवान् बिहान ४ बजे धरमपानीमा पु¥याइएको हो ।
अहिले धरमपानीमा आराम गरिराखेका धामीधमिनी र रथको पूजाआजासहित अपराह्न भैरवीदेवी मन्दिरमा फर्किएर सिन्दूर खेलेपछि ऐतिहासिक सिन्दूरे जात्राको विशेष रौनक छाउन सुरु हुने धार्मिक एवं वैदिक विधि रहेको नुवाकोट दरबार मौला अमालका द्वारे महेन्द्रकुमार शाहीले जानकारी दिएका हुन् ।
मङ्गलबार मध्यरात देवीघाट पुग्नुभएका धामीले करिब २४ घन्टाको बसाइमा विभिन्न जिउँदो पशु/चौपायाको भोग खाएर नयाँ वर्षको गोप्य भविष्यवाणी गरेका थिए । उनले गरेका भविष्यवाणी हुलाकमार्फत राष्ट्रपतिसमक्ष पठाइएको छ ।
द्वारे महेन्द्रकुमार शाहीकाअनुसार भगवान् भैरवीदेवी मन्दिरको प्रतीकात्मक रूपमा धामीधमिनीले विभिन्न गुठी राख्ने तथा दोहोरो कुरा गर्ने प्रचलन पहिलेदेखि नै सुरु भएको हो र यसलाई निरन्तरता दिइएको छ ।
सिन्दूरे जात्राको मुख्य आकर्षण धामीले भोग खाएको हेर्न, सिन्दूर खेल्न धामीधमिनी, भैरवीदेवी र जालपादेवी मन्दिरको दर्शन गर्न नुवाकोटसहित रसुवा, धादिङ, काठमाडौंलगायत मुलुकका विभिन्न जिल्लाका हजारौँ भक्तजन पुग्ने गर्छ । यो वर्षको भैरवी वर्षबन्ध सोमबारदेखि सुरु भएर आज विशेष रूपमा मनाइँदै छ ।
प्रतिक्रिया