बिस्केट जात्राको लिङ्गो उठाउने क्रममा भाँचिदा एकको निधन, पाँच घाइते

भक्तपुर, बैशाख १ ।
भक्तपुरको प्रसिद्ध जात्राको रूपमा लिइने बिस्केट जात्राको लिङ्गो उठाउने क्रममा लिङ्गो भाँचिदा एक जनाको ज्यानग गएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।
मृत्यु हुनेमा अन्दाजी ३४ वर्षीय व्यक्ति भएको र उनको पहिचान हुन नसकेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले बताए ।
लिङ्गो भाँचिएर घाइते भएलगत्तै भक्तपुर अस्पताल ल्याइए पनि अस्पताल ल्याउनुअघि नै उनको मृत्यु भएको थियो । घाइते हुनेमा सूर्यविनायक–६ का सुमन तज, च्यामासिंहका रामकृष्ण दुवाल, भक्तपुर नपा–११ का बालकृष्ण लिला, कमलविनायकका कृष्णभक्त दुवाल र नासमनाका सुरेन्द्र कैती रहेको उनले जानकारी दिए ।
बिहीबार साँझ भक्तपुर नगरपालिका भेलुखेलस्थित ल्यासिंखेलमा हजारौँ मानिसको सहभागितामा तान्त्रिक विधिअनुसार ५५ हात लामो ईन्द्रध्वजासहितको लिङ्गो उठाउने क्रममा अचानक लिङ्गो भाँचिएको थियो ।
लिङ्गो भाँचिएपछि स्थानीयले राति १० बजे अर्को लिङ्गो ठड्याएका छन् । स्थानीयकाअनुसार लिङ्गो भाँचिनुलाई अपसगुन र अनिष्टको सङ्केतको रूपमा लिने गरिएको छ ।
गुठी संस्थान भक्तपुरले लिङ्गो भाँचिएमा अर्को लिङ्गो उठाउनका लागि विकल्पको रूपमा दुई वटा लिङ्गो ल्याउने गर्दछ । लिङ्गो भक्तपुरको चित्तपोलस्थिल सल्लाघारी जङ्गलबाट तान्त्रिक विधिअनुसार पूजा गरेर ल्याउने गरिन्छ ।
चैत्र मसान्तको दिनमा लिङ्गो उठाएर आज नयाँ वर्षदेखि भव्य बिस्केट जात्रा मनाएर साँझ लिङ्गो ढाल्ने परम्परा रहेको छ । भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने यो जात्रा आगामी ५ गते सम्पन्न हुने गर्दछ ।
प्रतिक्रिया