नेता नेपाल सहभागी कार्यक्रममा पूर्वजर्नेल बस्न्यातद्वारा सहभागीमाथी जुत्ता प्रहार

काठमाडौं, पुस २७ ।
आज पृथ्वीनारायण शाहको दुई सय ९५ औँ जन्म जयन्ती । सोही अवसरमा राजधानीलगायत विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी सो दिवस भव्य रूपमा मनाएका छन् ।
यसैबीच, आज काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पृथ्वी जयन्तीको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रममा सहभागी रहेका रबि गुरागाईंले शाहको जन्म जयन्ती मनाउनेबारे आफ्नो जिज्ञासा राख्दा अचानक उनीमाथी जुत्ता प्रहार भएको छ ।
आयोजित उक्त कार्यक्रममा वक्ताहरूले शाहको बारे चर्चा परिचर्चा गरी सकेपछि सहभागीहरूलाई भनेर करिब २० मिनेट अन्तरक्रियाको लागि समय दिइएको थियो । सोही क्रममा सहभागी रबि गुरागाईंले शाहको गुनगान मात्रै गाउने काम भएको र प्राज्ञिक विमर्श नभएको भनी प्रश्न उठाएपछि अतिथी दीर्घामा वक्ताका रूपमासमेत रहेका पूर्वब्रिगेडियर जनरल प्रेमसिंह बस्न्यातले मञ्चबाटै उनीमाथी जाइलागेका थिए । उनी नेपाली सेनाका पूर्वसहायक रथीसमेत हुन् ।
‘पृथ्वीनारायण शाहमाथी प्रश्न उठाउने तँ को होस् ?’ भन्दै उनी गुरागाईंमाथी जाइलागेका थिए । गुरागाईंप्रति लक्षित गर्दै उनले आफूले लगाएका दुई वटै जुत्ता खोलेर गुरागाईं माथी प्रहार गरेका थिए । सहभागीले गुरागाईंलाई छेकेपछि जुत्ता लाग्नबाट उनी जोगिन भने सफल भए ।
गुरागाईंलाई पूर्वब्रिगेडियर बस्न्यातले धम्की दिँदै भने, ‘सेनाको मान्छे हुँ, बन्दुकले उडाई दिन पनि सक्छु ।’ अचानक उत्पन्न भएको उक्त घटनापश्चात कार्यक्रम केही समयका लागि बिथोलिएको थियो । सोही कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए । नेता नेपालले आफ्नो मन्तव्य सक्याएर कार्यक्रम हलबाट बाहिरिएपछि उक्त घटना हुन पुगेको थियो ।
प्रतिक्रिया