जारी महिला टी–२० स्मासकाे प्रतियाेगितामा नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडाैं, माघ १ ।
थाइल्याण्डमा जारी रहेकाे महिला टी–२० स्मास प्रतियोगिताअन्तर्गत नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले ह्याट्रिक जित दर्ता गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ । प्रतियोगितामा लगातार तेश्राे जित दर्ता गर्दै आज नेपालले यूएईलाई ६ विकेटले पराजित गर्न सफल भएकाे हाे । याेसँगै नेपालले तीन खेलबाट ६ अंक जोडेको छ । नेपालले पहिलो खेलमा चीनमाथि १० विकेट तथा दोश्राे खेलमा मलेशियालाई ६ विकेटले हराएको थियो । नेपालले अब पर्सि बुधबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।
टस जितेर पहिलो ब्याटिङ राेजेकाे यूएईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो । नेपालले १९ औँ ओभरमा ४ विकेटकाे क्षतिमा लक्ष्य भेटायो । प्रतियोगितामा तुलनात्मक रूपमा यूएई बलियो प्रतिद्वन्द्वी मानिएको थियो । यूएईले नेपालविरुद्ध संयमित ब्याटिङ गरेकाे थियाे । १ सय ६ रन पछ्याउँदा नेपालका लागि सीता रानामगरले सर्वाधिक ३७ रन जोडेकी थिइन् ।
त्यसअघि एशियन इन्ष्टिच्युट टेक्नोलोजी क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको यूएईले ओपनर छाया मुघलबाट राम्रो साथ पाएको थियो । छायाले सर्वाधिक ३१ रनको योगदान दिइन् । उनले ४३ बलको सामना गर्दै १ चौका प्रहार गरेकी थिइन् । त्यस्तै, ओझाले १ छक्का र २ चौकाको मद्दतमा २५ बलमा २८ रन बनाइन् । चामनी सेनेभरत्नेले २३ रनको अविजित इनिङ खेलिन् । यूएईका पाँच खेलाडीले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् । यूएईलाई न्यून योगफलमा समेट्न नेपालका सोनु खड्का, सीता रानामगर र करुणा भण्डारीले समान १–१ विकेट लिएकी थिइन् ।
नेपालका ओपनरद्वय काजल श्रेष्ठ र सीता रानामगरले पहिलो विकेटका लागि ६१ रनको अर्धशतकीय साझेदारी गरे । सोही साझेदारी नै नेपालको जितका लागि बलियाे आधार बन्न पुगेकाे थियाे । पहिलो विकेटका रूपमा रानामगर आउट भइन् । उनले ३५ बलमा ४ चौकाको सहयोगमा ३७ रन बनाइन् । अर्की ओपनर श्रेष्ठले ४२ बलमा २५ रन बनाइन् । इन्दु बर्माले १३ रन जोडिन् । कप्तान रुबिना क्षेत्री १० रनमा अविजित रहिन् । यूएईका लागि ईशा ओझा, हुमिरा तास्नेम, चामणी सेनेविरत्नेले समान १–१ विकेट लिएकी थिइन् ।
प्रतिक्रिया