जारी रहेकाे महिला टी–२० स्म्यासमा थाइल्याण्डसँग नेपाल पराजित

काठमाडाैं, माघ ५ ।
जारी रहेकाे महिला टी–२० स्म्यासअन्तर्गत आज भएकाे खेलमा नेपाल थाइल्याण्डसँग पराजित हुँदै उपविजेता बन्न पुगेकाे छ ।
१ सय २२ रनको लक्ष्य पछ्याएको नेपालले ७० रनले पराजित भएको हो । १ सय २२ रनको लक्ष्य लिएर दोश्राे इनिङ सुरु गरेको नेपालका लागि कुनै पनि ब्याट्सवुमन क्रिजमा जम्न सफल हुन सकिन ।
पहिलो ओभरमा नै ओपन काजल श्रेष्ठलाई गुमाएको नेपालले दोश्राे ओभरमा इन्दु बर्मालाई गुमाउन पुग्यो । लगातार विकेट पतनको शिकार बनेको नेपालका लागि नेरी थापा र सीता रानामगरले मात्र दोहोरो अंकको रन जोड्न सफल भएकी थिइन् ।
नेरीले १७ रन बनाएकी थिइन् भने सीताले १३ रन जोडिन् । नेपालका चार खेलाडीले खाता नै खोल्न सकेनन् । नेपाललाई कम स्कोरमा रोक्नका लागि सुलिपोर्न लाओमीले तीन विकेट लिइन् भने सोनार्नि टिपोचले दुई विकेट झारिन् ।
अघिल्ला खेलमा जस्तो दरिलो बलिङ गर्न नसक्दा थाइल्याण्डले २० ओभरमा एक विकेट गुमाउँदै १ सय २१ रन बनायो । उसका लागि नाटाकान चान्थमले अविजित ६९ रनको अर्धशतकीय योगदान दिइन् ।
उनले ६७ बलमा चार चौका प्रहार गरेकी थिइन् । नारुमोल चाइवाई २७ रन जोडेर रनआउट भइन् । त्यसपछि क्रिजमा आएकी चाण्डिया सुत्थिरुवाङले ११ बलमा १९ रन बनाएकी थिइन् ।
सन् २०१३ मा थाइल्याण्डमै भएको एसीसी उमन्स च्याम्पियनशीपमा नेपाल अन्तिम पटक सेमिफाइनलमा पुगेको थियो । तर, सेमिफाइनलमा नेपाल थाइल्याडसँग पराजित भएको थियो ।
प्रतिक्रिया