नेपालद्वारा यूएई एक सय ४५ रनले पराजित

काठमाडाैं, माघ १२ ।
जारी रहेकाे दाेश्राे एक दिवसीय क्रिकेटअन्तर्गत आज भएकाे खेलमा नेपालले यूएईलाई १४५ रनले पराजित गरेकाे छ । नेपालले दिएको २४३ रनकाे विजयी लक्ष्य यूएईले १९ दशमलव ३ ओभरमा अलआउट हुँदै ९७ रन बनाएको छ ।
यूएईलाई अल आउट गर्ने क्रममा सोमपाल कामीले ५ विकेट लिन सफल भएका छन् भने सन्दीप लामिछानेले ४ विकेट लिएका छन् । त्यस्तै एक विकेट नेपालले रन आउटको रूपमा लिएको थियो ।
नेपाली बलर सोमपाल कामीले यूएईका पाँच जना ब्याट्सम्यानलाई आउट गरेका थिए । सोमपालले ६ दशमलव ३ ओभरमा एक मेडनसहित ३३ रन दिएर ५ विकेट लिएका थिए । त्यस्तै सन्दीप लामिछानेले आफ्नो दोश्राे ओभरमा मेडनसहित ३ विकेट लिएर खेल नेपालको पक्षमा पारेका थिए । सन्दीपले ४ ओभरमा एक मेडनसहित २४ रन दिएर ४ विकेट लिए ।
यूएईका लागि मोहमद उसमानले सर्वाधिक २६ रन बनाए भने अस्फाक अहमदले २०, मोह्माद नाभीदले १९ रन बनाए ।
यसअघि, दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा भएको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ्ग गर्दै ५० ओभरमा ९ विकेट गुमाएर २४२ रन बनाएको थियाे ।
नेपालका लागि रोहित पौडेलले सर्वाधिक ५५ रनको पारी खेले भने ज्ञानेन्द्र मल्लले ४४ रन बनाएका थिए । त्यस्तै आरिफ सेखले २९ रन बनाए भने बिनोद भण्डारी र कप्तान पारस खड्काले २१-२१ रन बनाए । त्यस्तै करण केसीले १८ तथा दिपेन्द्र सिंह ऐरीले १० तथा पवन सराफले ८ रन बनाए । त्यस्तै सोमपाल कामीले २ तथा सन्दीप लामिछानेले अविजित १४ र ललित राजबंशीले ३ रन बनाए ।
नेपालको पारीमा रोहित र आरिफले ८२ रनको साझेदारी गरेका थिए भने पहिलो विकेटका लागि ज्ञानेन्द्र र बिनोदले ६१ रनको साझेदारी गरेका थिए ।
यूएईका लागि आमिर ह्यात र इमरान हैदरले ३-३ विकेट लिए भने मोहमद नाभीद, जाहुर खान र अस्फाक अहमदले एक एक विकेट लिएका थिए ।
नेपालले अहिलेसम्म खेलेका ५ एक दिवसीय खेलमा यो दोश्राे जित हो । यसअघि, नेदरल्याण्डसँग एक र यूएईसँग २ खेलमा पराजित भएको थियाे । तीन खेलको सिरिजमा नेपाल र यूएई १-१ को बराबरीमा रहेका छन् । अब नेपालले तेश्राे खेल सोमबार खेल्ने छ ।
प्रतिक्रिया