महिला गाेल्डकपमा नेपालको पहिलो खेल म्यान्मासँग हुँदै

काठमाडाैं, माघ १९ ।
भारतको भूवनेश्वरमा यही माघ २६ गतेदेखि फागुन ३ गतेसम्म सञ्चालन हुने महिला गोल्डकप प्रतियोगितामा नेपालले पहिलो प्रतिद्वन्द्वी म्यान्मासँग गर्ने भएकाे छ ।
भारतीय फुटबल महासङ्घले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल यही माघ २६ गते म्यानमारसँग खेल्ने भएकाे हाे । आसन्न साफ च्याम्पियनशीप र ओलम्पिक छनाैटलाई लक्षित गर्दै भारतले प्रतियोगिताको आयोजना गरेको हो ।
अन्तिम समयमा श्रीलङ्काले प्रतियोगिता नखेल्न जनाएपछि इरानलाई प्रतियोगितामा सहभागी गराइएको महासङ्ले जनाएको छ । प्रतियोगितामा नेपालसहित इरान, म्यान्मा र आयोजक भारत रहेकाे छ । यसैगरी, नेपालले दोश्राे खेलमा यही माघ २८ गते भारतसँग र तेश्राे खेलमा नेपालले आगामी फागुन १ गते इरानसँग प्रतिस्पर्धा गर्ने भएकाे छ ।
राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल फागुन ३ गते हुनेछ । प्रतियोगिताको तयारीका लागि नेपाली टोली अहिले झापामा बन्द प्रशिक्षणमा रहेको छ ।
नेपाली टोलीमा गोलकिपर एञ्जिला तेम्वाप्पो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, डिफेण्डर हीराकुमारी भुजेल, गीता राना, पुनम जर्गा मगर, अमृता जैशी, कविता धिमाल, सुनिता चौधरी, पुजा राना, मनमाया लिम्बु, मिडफिल्डरमा विमला चौधरी, अनिता बस्नेत, दीपा राई, मञ्जली योञ्जन, शर्मिला थापा, सरु लिम्बु, रेनुका नगरकोटी र स्ट्राइकरमा अनु लामा, रेखा पौडेल, निरु थापा (कप्तान), सावित्रा भण्डारी तथा अनिता केसी छन् ।
पहिलो पटक साफ च्याम्पियनशीप जित्ने लक्ष्यसहित नेपाली महिला टोली पूर्वराष्ट्रिय खेलाडी हरि खड्काको प्रशिक्षणमा रहेकाे छ । झापाबाट नेपाली टोली मङ्गलबार भारत जाने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।
प्रतिक्रिया