आईसीसी महिला विश्वकप : मलेसियामाथि नेपालको शानदार जित दर्ता

काठमाडौं, फागुन ७ ।
थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा भएकाे आईसीसी महिला विश्वकप छनौटको एशिया क्षेत्र प्रतियोगिताअन्तर्गत पहिलो खेलमा नेपालले आज मलेसियालाई ३४ रनले पराजित गरी जित दर्ता गर्न सफल भएको छ ।
नेपालले प्रस्तुत गरेको एक सय २७ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९२ रन मात्र बनाउन सकेको थियो । मलेसियाका लागि विकेट किपर क्रिष्टिना बारेटले २९ बलमा एक चौका प्रहार गर्दै २१ रन बनाएकी थिइन् ।
त्यस्तै बिन्फ्रिड दुराइसिङ्गमले ३० बलमा १८ र साषा आजमीले १६ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानहरूले दोहोरो अंकमा रन छुन सकेनन् । मास एसिला छ, वान जुलिया आठ, जुमिका आजमी तीन रनमा आउट भइन् ।
नेपालका लागि करुणा भण्डारीले चार ओभरमा १४ रन खर्चेर दुई विकेट लिएकी थिइन् । त्यस्तै सरिता मगरले तीन ओभरमा १२ रन खर्चेर दुई विकेट हात पार्न सफल भइन् । सीता रानामगर र कविता कुँवरको नाममा पनि एक–एक विकेट रहन गयो ।
त्यसअघि नेपाललाई बलियो योगफलसम्म पुर्याउन कप्तान रुबिना क्षेत्री र उपकप्तान सीता रानामगरले उत्कृष्ट ब्याटिङ गरेकी थिइन् । बैंककस्थित ट्रेडथाई मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय २६ रन बनाएको थियो ।
नेपालको लागि ओपनर सीता रानामगरले उत्कृष्ट ब्याटिङ गरेकी थिइन् । सीताले ४० बलमा दुई चौका प्रहार गर्दै ४२ रन बनाइन् । ओपनर काजल श्रेष्ठले २९ बलमा तीन चौका प्रहार गर्दै १६ रनको योगदान दिएकी थिइन् ।
प्रतिक्रिया