आईसीसीअन्तर्गत जारी खेलमा नेपालद्वारा यूएई सात विकेटले पराजित

काठमाडौं, फागुन १० ।
जारी रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) महिला विश्वकप क्रिकेटको एशिया छनोटअन्तर्गत तेश्रो खेलमा नेपालद्वारा संयुक्त अरब इमिरेट्स (यूएई) ७ विकेटले पराजित भएको छ ।
थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा आज भएको खेलमा नेपाललाई यूएईले जितका लागि प्रस्तुत गरेको ४२ रनको झिनो लक्ष्य नेपालले १० दशमलव २ ओभरमा मात्र ३ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक १८ रन बनाएकी थिइन् । त्यसैगरी, काजल श्रेष्ठले १५ रन तथा सरिता रानामगरले ६ रनको बनाएकी थिइन् । यसअघि यूएईले टस जितेर पहिलो ब्याटिङ रोज्दै १७ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ४१ रन मात्र बनाएको थियो ।
यूएईका लागि चामानी रोसहिनीले १३ रन जोड्नुबाहेक अन्य ब्याट्स म्यानहरूले दोहोरो अङ्कको रन जोड्न सकेनन् । यूएईलाई सस्तैमा समेट्न नेपालकी नेरी थापाले चार विकेट लिइन् । त्यस्तै सीता रानामगर, सोनु खड्का र कृष्णा कुँवरले समान २/२ विकेट लिएकी थिइन् ।
यो जितसँगै नेपालले ३ खेलबाट १ मा हार र २ खेलमा जित दर्ता गर्दै ४ अङ्क बनाएको छ । यूएईले पनि समान ४ अङ्क नै रहेको छ । छनोट प्रतियोगिताका सुरुवाती ३ खेल जितेर यूएई बलियो अवस्थामा रहेको छ । उसले ३ खेलबाट ६ अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ ।
यसैबीच, नेपालले अर्को खेल फागुन १२ गते हङ्ककङ्क, १३ गते चीन र १५ गते कुबेतसँग प्रतिस्पर्धा गर्नेछ । राउण्ड रोबिनका आधारमा हुने छनोटको बिजेताले आईसीसी महिला टी–२० विश्वकप छनोट २०१९ प्रतियोगितामा खेल्नेछ । एशिया छनोटमा नेपालसहित सात राष्ट्रले सहभागिता जनाएका छन् ।
प्रतिक्रिया