हिमालयन शेर्पालाई हराउँदै त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश

काठमाडौं, फागुन १२ ।
पोखरामा जारी रहेको आहा रारा गोल्डकपअन्तर्गत आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई हराउँदै विभागीय टीम त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रङ्गशालाको फुटबल मैदानमा भएको आजको क्वाटरफाइनल खेलमा आर्मीले हिमालयनलाई ३–१ गोलअन्तरले पराजित गरी अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । खेलमा शेर्पा क्लबका लागि २७ औँ मिनेटमा विदेशी खेलाडी प्याट्रिक गोहाले गोल गरेर अग्रता लिएका थिए ।
दोश्रो हाफमा आर्मीले लगालग तीन गोल फर्काएका थिए । खेलको ७१ औँ र ८० औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गरेका थिए भने थप गरिएको पाँच मिनेटको इञ्जुरी समयको पहिलो मिनेटमा जर्जप्रिन्स कार्कीले गोल गरेका थिए । दुई गोल गरेका आर्मीका नवयुग श्रेष्ठ ‘म्यान अफ दी म्याच’ घोषित भए ।
आर्मीका प्रशिक्षक नविन न्यौपानेले लगातारको यात्रामा थकानका कारण खेलाडीले आफ्नो लय समात्न नसके पनि दोश्रो हाफमा प्रदर्शनमा व्यापक सुधार गरी टीमलाई जित दिलाएको बताए ।
सहारा क्लब पोखराको आयोजनामा यहीँ फागुन ९ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगिताको अर्को क्वाटरफाइनल खेल भोलि सोमबार रुस्लान थ्रीस्टार क्लब र यूनाईटेड सिक्किम, भारतकाबीच हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया