आईसीसी महिला टी–२०, नेपाललाई पाँचौँ सफलता, नेपालद्वारा कुबेत ३० रनले पराजित

काठमाडौं, फागुन १५ ।
थाइल्याण्डमा जारी रहेको अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आईसीसी) टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत आज भएको एशिया क्षेत्र छनोटको अन्तिम खेलमा नेपाललाई पाँचौँ सफलता हात परेको छ । आजको खेलमा नेपालद्वारा कुबेत ३० रनले पराजित भएको छ ।
नेपालले दिएको ११७ रनको लक्ष्य पछ्याएको कुबेतले २० ओभरमा ९ विकेट गुमाउँदै ८६ रन मात्र बनाएपछि नेपाल ३० रनले जित हात पार्न सफल भएको हो ।
कुबेतका लागि कप्तान मर्याम ओमारले सर्वाधिक २९ रन बनाएकी थिइन् भने प्रियादा मुरलीले १४, सब्रिन जाकी र मरियाम्मा हैदरले १२–१२ रन बनाएकी थिइन् ।
नेपाली बलरहरूले किफायती बलिङ्ग गर्दै कुबेतलाई रोक्न सफल देखिएका थिए । नेपालका बलर करुणा भण्डारीले ३ विकेट लिन सफल भएकी थिइन् । उनले ४ ओभरमा १२ रन दिएर ३ विकेट लिएकी हुन् ।
त्यसैगरी, कप्तान रुबिना छेत्री बेलबासेले पनि ३ विकेट लिएकी छन् । रुबिनाले अन्तिम ओभरको अन्तिम तीन बलमा लगातार तीन विकेट लिएर ह्याट्रिक समेत गरेकी छन् । उनले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिएकी हुन् । त्यस्तै नेरी थापा र कविता कुँवरले एक–एक विकेट लिएकी थिइन् ।
यसअघि, नेपालले टस हारेर पहिला ब्याटिङ्ग गर्दै २० ओभरमा ७ विकेट गुमाउँदै ११६ रन बनाएको थियो । नेपालका लागि बिन्दु रावलले सर्वाधिक अविजित २८ रन बनाएकी थिइन् भने ओपनर काजल श्रेष्ठले १८ रन बनाएर आउट भएकी थिइन् । त्यस्तै नेरी थापाले १९, रुबिना छेत्री बेलबासेले २२, इन्दु बर्मा र रोमा थापाले ७–७ रनको योगदान दिएका थिए ।
कुबेतका बलर मर्याम ओमारले २ विकेट लिएकी थिइन् भने प्रियादा मुरली, अन्न तारिक, मदिना जुबेरीले एक–एक विकेट लिएकी थिइन् ।
नेपालले प्रतियोगितामा ६ खेलमा ५ खेलमा जित र एकमा हारसहित १० अंक बटुलेको छ । अब नेपाल शीर्ष स्थानमा आउने नआउने कुराको टुङ्गो आजै हुने आयोजक थाइल्याण्ड र यूएईविरुद्धको खेलबाट लाग्ने अर्थात गणितीय आधारमा मात्र छनोट हुन बाँकी रहेको छ । योसँगै कुबेतले भने प्रतियोगितामा सबै खेलमा पराजित हुँदै बाहिरिएको छ ।
प्रतिक्रिया