‘प्रधानसेनापति चौथो खुल्ला म्याराथन प्रतियोगिता–२०७५’ सम्पन्न

काठमाडाैं, फागुन १८ ।
महाशिवरात्री तथा सेना दिवस–२०७५ को अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा “UNITED WE STAND-Let us Stand together” भन्ने मूल नारासहित RUN FOR FUN को रूपमा ‘प्रधानसेनापति चौथो खुल्ला म्याराथन दौड प्रतियोगिता–२०७५’ आज सम्पन्न भएको छ ।
उक्त प्रतियोगितामा ४२ दशमलव १९५ किलोमिटर म्याराथन, २१ किलोमिटर हाफ म्याराथन (महिला/पुरुष), विदेशी सैनिक सहचारी एवं कूटनीतिज्ञहरूसहितको नेपाली सेनाका अधिकृतहरूको १० कि.मि. दौड (महिला/पुरुष), विभिन्न विद्यालयका छात्र/छात्राहरूको ५ किलोमिटर दौड तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विदेशी कूटनीतिक पदाधिकारी र निजामती उच्च पदाधिकारीहरू सम्मिलित ५ किलोमिटर वाकाथन समावेश गरिएको थियो ।
सो प्रतियोगिताको छात्रतर्फको ५ कि.मि.दौडमा श्री सैनिक आवासीय महाविद्यालय, सल्लाघारीका ईश्वरचन्द्र बस्नेत प्रथम, शान्ति विद्या निकेतनका भुपराज पुरी द्वितीय र श्री सैनिक आवासीय महाविद्यालयकै विकास तामाङले तृतीय स्थान हासिल गरेका छन् । त्यसैगरी, छात्रातर्फ काजल बिष्ट प्रथम, श्री बिजेश्वरी ज्ञान मन्दिरका कुशलता तामाङ द्वितीय र श्री बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयकै स्वेच्छा बलामी मगरले तृतीय स्थान हासिल गर्न सफल भएकी छन् ।
सोही अवसरमा, पुरुषतर्फको १० कि.मि. दौडमा नेपाली सेनाका सहायक सेनानी विशालचन्द्र वाजी प्रथम, सेनानी मधु थापा द्वितीय र सह–सेनानी नवराज थापा तृतीय भए । त्यसैगरी, महिलातर्फ सेनानी रजनी अधिकारी प्रथम, सह–सेनानी सञ्जिता के.सी. द्वितीय र सह–सेनानी पवित्रा अधिकारी तृतीय भएकी छन् । सोही विधाको पुरुषतर्फ १० कि.मि. विदेशी सैनिक सहचारी एवं कूटनीतिज्ञसहितको दौडमा काठमाडाैंस्थित भारतीय राजदूताबासका Mr. Shashank Shekhar प्रथम र बेलायती राजदूताबासका HE Mr. Richard Morris द्वितीय र भारतीय राजदूताबासकै Mr. R. Durai Murugan तृतीय स्थान हासिल गर्न सफल भए । उक्त विद्यामा प्रथम, द्धितीय तथा तृतीय स्थान हासिल गर्नु हुने विदेशी सैनिक सहचारी एवं कूटनीतिज्ञहरूलाई पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरिएको थियो ।
हाफ म्याराथन २१ कि.मि. दौड दुई विद्या (४५ वर्षमुनि र माथि उमेर समूह) मा गरिएको थियो । ४५ वर्षमुनि पुरुषतर्फको २१ कि.मि.दौडमा नेपाली सेनाका जम. कल्याण बानियाँ प्रथम, सिपाही गजेन्द्र राई द्वितस्य र अम. टीका कटवालले तृतीय स्थान हासिल गर्न सफल हुनु भएको थियो । त्यसैगरी, सोही विद्याको महिलातर्फ नेपाली सेनाका अम. विश्वरूपा बुढा प्रथम, सशस्त्र प्रहरी बलका बिन्दा देशा द्वितस्य र नेपाली सेनाका सिपाही चन्द्रा रावतले तृतीय स्थान हासिल गर्नु भएको थियो । उक्त २१ कि.मि.दौडमा प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्नु हुने धावकहरूले क्रमशः रु.५० हजार, रु.३५ हजार र रु.२५ हजार नगद पुरस्कार तथा मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । ४५ वर्ष माथिको २१ कि.मि. विधामा धर्म महर्जन प्रथम, भीम गुरुङ द्वितीय र भीमसेन अवाले तृतीय हुन सफल भई नगद पुरस्कार क्रमशः रु.४० हजार, रु.२५ हजार र रु.१५ हजार प्राप्त गरे ।
त्यसैगरी, म्याराथन प्रतियोगितामा नेपाली सेनाका जम.कृष्ण बस्नेतले २ घण्टा २० मिनेट ५१ सेकेण्डमा दौड पूरा गर्नु भई प्रथम स्थान हासिल गर्नु भएको थियो भने नेपाली सेनाका हु. राजन खत्रीले २ घण्टा २४ मिनेटमा दौड पूरा गर्नु भई द्वितीय र नेपाली सेनाका प्युठ नवराज साउदले २ घण्टा २९ मिनेट ५७ सेकेण्डमा दौड पूरा गर्नु भई तृतीय भएका छन् ।
उक्त म्याराथनमा प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रथम हुनुहुने नेपाली सेनाका जम. कृष्ण बस्नेतलाई रु. १ लाख २५ हजारको चेकबोर्ड, मेडल, प्रमाण पत्र र ट्रफी प्रदान गर्नु भएको थियो भने द्वितीय, तृतीय, चौथो, पाँचौ, छैठौ र सातौँ स्थान हासिल गर्न सफल हुनु भएका धावकहरूलाई समेत प्रधानसेनापति थापाले क्रमशः रु.६५ हजार, रु.३५ हजार, रु.२५ हजार, रु.१५ हजार, रु.१० हजार र रु.५ हजार तथा मेडल र प्रमाण पत्रसमेत प्रदान गरेका थिए । साथै प्रथम हुनुहुने जम. बस्नेतलाई गोल्छा अर्गनाईजेशनका म्यानेजिङ्ग डाईरेक्टर शेखर गोल्छाले पल्सर मोटरसाइकलको चाबी समेत हस्तान्तरण गरेका थिए ।
सोही क्रममा प्रमुख अतिथी प्रधानसेनापति थापाले नेपालको प्रतिनिधित्व गर्दै ओलम्पिक गेममा सहभागी भएका नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त खेलाडीहरूलाई दोसल्ला ओढाई ताम्रपत्र र जनही नगद रु. २५ हजार पुरस्कारबाट सम्मान गरेका थिए ।
उक्त प्रतियोगिताको म्याराथनतर्फ २५५ जना, २१ कि.मि. ४५ वर्षभन्दा मुनिको पुरुषतर्फ १६५० जना र महिला तर्फ ३३५ जना, ४५ वर्षभन्दा माथि पुरुष १६ जना, १० कि.मि. पुरुषतर्फ ६७०, महिला तर्फ २३, ५ कि.मि. पुरुष तर्फ ६५०, महिला तर्फ ६० र वाकाथन ६०० गरी कूल सहभागी संख्या ४२५९ जना रहेको थियो ।
सोही कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरू, अन्य सुरक्षा निकायका प्रतिनिधिहरू, नेपाल ओलम्पिक कमिटीका सदस्यहरू, अखिल नेपाल फुटबल संघका प्रतिनिधिहरू, नेपाल उद्योग वाणिज्य संघका प्रतिनिधिहरू, विभिन्न बैंकका प्रतिनिधिहरू, विदेशी NNC क्याडेट तथा प्रतिनिधिहरू, खेलकुद पत्रकार मञ्च, सञ्चारकर्मीलगायत विभिन्न विद्यालयहरूका विद्यार्थीहरूको समेत उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।
प्रतिक्रिया