बंगलादेशलाई ३ विरुद्ध शून्य गाेलले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश
विराटनगर, चैत्र २ ।
विराटनगरमा जारी रहेको पाँचौँ साफ महिला फुटबलअन्तर्गत आज भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले राम्रो खेल प्रदर्शन गर्दै बंगलादेशविरुद्ध सहज जित हासिल गरेको छ ।
नेपालले बंगलादेशलाई ३ विरुद्ध शून्य गोल अन्तरले पराजित गरेको हो । नेपालले पहिलो हाफमा तिनै गोल गरेको थियो भने दोश्रो हाफमा कुनै गोल हुन सकेन । नेपालका लागि सावित्री भण्डारी र मञ्जलीकुमारी योञ्जनले एक–एक गोल गरेकी थिइन् भने एक गोल आत्मघाती गोलको रूपमा नेपालले उपहार पाएको थियो ।
खेलको छैठौँ मिनेटमा बंगलादेशका खेलाडीले आत्मघाती गोल गर्दा नेपालले सुरुवाती अग्रता लिएको थियो । त्यसपछि खेलको २३ औँ मिनेटमा सावित्री भण्डारीले गोल गर्दै नेपालको अग्रता दोब्बर पारेको थियो । नेपालका लागि तेश्रो गोल मञ्जलीकुमारीले खेलको २८ औँ मिनेटमा गरेकी थिइन् ।
यसअघि उद्घाटन खेलमा भुटानलाई ३ विरुद्ध शून्य गोल अन्तरले पराजित गरेको नेपालले समूह चरणका दुबै खेल जितेर समूह विजेता हुँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । त्यस्तै बंगलादेश समूहको उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ ।
समूह ‘ए’बाट भुटान र समूह ‘बी’बाट माल्दिभ्स समूह चरणको दुबै खेलमा पराजित भई बाहिरिएका छन् ।
नेपालले अब सेमिफाइनलमा समूह ‘बी’को उपविजेतासँग प्रतिस्पर्धात्मक खेल खेल्ने छ । समूह ‘बी’बाट विजेता उपविजेताको टुङ्गो भारत र श्रीलंकाबीच भोलि आइतबार हुने खेलबाट छिनोफानो हुनेछ ।
प्रतिक्रिया